Techie IT
  • २१ कात्तिक २०८१, बुधबार
KhojPatrika

बैशाख १ गतेदेखि केहि दिन नयाँ बसपार्क बन्द हुने,टिकट काउण्टर अन्तर्राष्ट्रियस्तरको बनाइँदै


काठमाडौं । बैशाख १ गतेदेखि केही दिनका लागि काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क बन्द हुने भएको छ । बसपार्कको टिकट काउण्टर पुनर्निर्माण गरी अन्तर्राष्ट्रियस्तरको बनाउन बन्द गर्न लागिएको हो । त्यसका लागि काउन्टर बुधबारदेखि बन्द हुनेछन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक पूर्वाधार निर्माण भइरहेका छन् ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको बताए । नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रह समेत गरेको छ ।

बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायात मार्फत आवतजावत गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा विसं २०५६ मा महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापित र प्रालिका अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याइएको थियो । नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई सुविधासम्पन्न बसपार्कको रुपमा निर्माण गर्न लागिएको बताइएको छ ।

प्रालिले यात्रुको सहजताका लागि कम्प्युटर प्रणालीको माध्यमबाट टिकट काट्ने व्यवस्था मिलाएको छ । सरकारले लिएको नीतिअनुसार कोभिड–१९ सङ्क्रमणपछि हुने भीडभाडलाई ध्यानमा राखेर प्रविधिको प्रयोगलाई जोड दिइएको हो । ल्होत्सेले बस टिकट खरीद तथा बुकिङका लागि क्युआर कोर्डमार्फत भुक्तानी हुने व्यवस्था मिलाएको छ । लक्ष्मी बैंक लिमिटेडको सहकार्यमा उक्त सेवा सञ्चालन गरिएको हो । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको नयाँ बसपार्क १ सय ६१ रोपनी क्षेत्रफलमा सञ्चालित छ । बसपार्क एकैपल्ट एक हजार ५ सय सार्वजनिक सवारी साधन पार्किङ गर्नसक्ने क्षमताको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्