Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

अस्पतालले बेड लुकाउदा समेत कारवाही गर्दैन सरकार


काठमाडौं । दशैं सुरु हुनुअघि जस्तो पिसिआर परिक्षण भएको भए यतिबेला कोरोना संक्रमितको संख्या झण्डै २ लाख नजिक पुग्ने थियो । तर, दशैंको बाहनामा सरकारले कोरोना परिक्षण नै स्थगित गर्यो । दशैंका लागि काठमाडौं उपत्यका छोडेका मानिसहरुको अव फेरि उपत्यका भित्रिने क्रम बढ्छ । परिक्षण नै रोक्दा कोरोना संक्रमण कति फैलिएको होला अनुमान नै गर्न गाह्रो छ । झन् शहर केन्द्रीत संक्रमण तीब्र हुँदा सरकारका तर्फबाट सर्तकता परको कुरा बिरामीको उपचार समेत गर्न हात झिकेको छ । यहि मौका छोप्दै सरकारी तथा नीजि अस्पतालले कोरोना संक्रमितबाट लाखौं रकम असुलिरहेका छन् । अस्पतालहरुमा बेडको कृत्रिम अभाव सिर्जना गरेर अस्पतालहरुले राज्यलाई नै झुक्याइरहेका छन् । बेडै खाली छैनन् भन्दै गेटबाटै बिरामी फर्किदा देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्टाइएका आइसुलेसन बेड आधाभन्दा बढी खाली भएको भेटिएको छ ।

खुलेआम राज्यलाई नै झुक्याउने गरी जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कुनै कदम चालेको छैन् । गेटबाटै बिरामी फिर्ता पठाउँदा व्यवस्थापन, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको स्वास्थ्य मन्त्रालय थाहा नपाएझै गरिरहेको छ । हुनत् अस्पतालहरूले मन्त्रालयलाई बुझाएको दैनिक रिपोर्टमा बिरामीभन्दा केही संख्यामा बेड खाली देखाइन्छ । तर, प्रभावकारी सफ्टवेयरको व्यवस्था नहँुदा अस्पतालहरूले बेड संख्या लुकाउने गरेका छन् । बिहिबारसम्म काठमाडौंमा कोरोना उपचार हुनेमध्ये दुई वटा अस्पतालमा मात्रै चाप छ ।

टेकु अस्पतालका ५८ बेडमध्ये ५१ मा बिरामी उपचारत छन् । त्यस्तै, स्टार अस्पतालका २१ बेडमध्ये सबै बेडमा बिरामी भर्ना भएका छन् । अरु बाँकी सबै अस्पतालमा थुप्रै बेड खाली छन् । शिक्षण अस्पतालमा १ सय ३२ बेडमध्ये १ सय २ मा कोरोना संक्रमितको उपचार भइरहेको छ । शिक्षण अस्पतालमा ३० बेड खाली छन् । वीर अस्पतालमा ४ सय ६० मध्ये जम्मा १ सय १ मा बिरामी हुँदा ३ सय ५९ बेड खाली छन् । र सशस्त्र प्रहरी अस्पतालमा २ सय मध्ये १ सय ११ मा कोरोना संक्रमितको उपचार भइरहँदा ८९ बेड खाली छन् । आर्मी अस्पतालमा कोभिड उपचारका लागि १ सय बेड छन्, तर जम्मा ४६ बिरामी भर्ना हुँदा ५४ बेड खाली छन् । नेपाल प्रहरी अस्पतालमा कोभिड उपचारका लागि ४ सय १४ बेड रहेकोमा १ सय ५५ संक्रमितको उपचार हुँदा २ सय ५९ बेड खाली छन् ।

धुलिखेल अस्पतालमा १ सय बेड मध्ये ५१ जनाको उपचार भइरहदा ४९ बेड खाली छन् । काठमाडौंको ग्रान्डी अस्पतालमा ५० मध्ये २४, ह्याम्स अस्पतालका ७० मध्ये ५५ र मेघा अस्पतालमा १ सय मध्ये २० बेडमा मात्रै संक्रमितको उपचार भइरहेको छ । कोरोनाको उपचार तोकिएका राजधानीका १२ अस्पतालमा १ हजार ९ सय ५५ आइसोलेसन बेड छन् । ती मध्ये आधाभन्दा धेरै अर्थात् एक हजार ६९ बेड अहिले पनि खाली हुँदा संक्रमितले भने भर्ना नपाएर गेटबाटै फर्किनुपर्ने अवस्था छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा २० हजार १ सय ७८ वटा आइसोलेसन बेडछन् ।

देशभर सक्रिय संक्रमितको संख्या ४० हजार पुग्दा करिव ३२ हजार संक्रमित अस्पतालबाहिरै रहेको सरकारी तथ्यांकमा छ । झडैं ८ हजारको हाराहारीमा मात्रै संक्रमित अस्पतालको बेडमा छन् । यो तथ्याङक हेर्दा देशभर १३ हजार १ सय २४ आइसोलेसन बेड अझै खाली हुँदा पनि बिरामीले किन बेड पाउँदैनन् त्यो प्रश्न कसलाई सोध्ने ? कोरोना संक्रमितको उपचारका लागि देशभर नौ सय ५९ आइसियू र चार सय १५ भेन्टिलेटर छन् । करिव साढे तीन सयको हाराहारीमा आइसियू र ८० जना भेन्टिलेटरमा उपचाररत छन् । उपत्यकाका अस्पतालमा दुई सय ४१ आइसियू र एक सय सातवटा भेन्टिलेटरको क्षमता छ । सरकारी अस्पतालमा एक सय २४ र निजीमा एक सय १७ आइसियू छन् । तर, बिरामी राख्ने भेन्टिलेटर र आइसियू नभएको गुनासो सर्वत्र सुनिने गरेको छ ।

अस्पताल प्रशासन भने सबै बेड भरिएको दाबी गर्छ । कोरोना संक्रमित भन्ने बित्तिकै अस्पतालले बेडै छैन् भन्ने जवाफ दिन्छन् । अस्पतालले भर्ना लिन नमान्दा यतिबेला संक्रमितहरु होम आइसुलेसनमै बसिरहेका छन् । कोरोना भाइरसले फोक्सोलाई तीव्र गतिमा क्षति पु¥याउने भएकाले संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा समस्या हुन्छ । चिकित्सकका अनुसार यस्तो अवस्थामा तत्काल आइसियू–भेन्टिलेटर वा अक्सिजन दिन सकिएन भने बिरामीको मृत्यु हुन्छ । तर, अहिले अस्पतालमा यस्तो सेवा पाउन निकै कठिन छ । जसका कारण यतिबेला होम आइसुलेसनमा बसेका संक्रमितको मृत्युका खबर बाहिरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले भने संक्रमित बढ्दै गएपछि सरकारले बेहोस भएको खण्डमा वा पिसाब रोकिएको अवस्थामा मात्रै अस्पताल आउन निर्देशन जारी गरेको छ । जसले गर्दा होम आइसोलेसनमा बस्नेको संख्या पनि बढिरहेको छ । केहि दिनअघि अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा दिएको दाबी गर्ने टोखास्थित ग्राण्डी अस्पतालले निमोनियाको समस्या देखिएर अस्पताल लगिएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको भन्दै आधा महिना बढी समय आइसीयूमा राखेर ३० औँ लाख अशुलेपछि रिपोर्ट नेगेटिभ आएको भन्दै बाँकी पैसा तिरेर शब लान भनेको जोरपाटीका पुष्प सुनार रसाइलीको उपचार काण्ड होस वा कोरोना शुल्क भन्दै अन्य उपचार सेवामा समेत शुल्क थप्ने नर्भिक अस्पताल लगायतका नीजि अस्पतालको थप शुल्क असुली काण्ड । सुरु सुरुमा कोरोनाले विदेशमा संक्रमित ढलेको देखेर आत्तिएका नीजि अस्पताल यतिबेला संक्रमितको उपचारकै लागि मरिहत्ते गर्न थालेका छन् ।

कोरोना परिक्षणमा सरकारले तोकेभन्दा चर्को शुल्क । अझ, उपचारमा त पीपीई, माक्स, ग्लोब, सेनिटाइजर सबै सबैको शुल्क बिरामीबाटै अशुलेका विभिन्न तथ्यहरु बाहिरिएका छन् । केही घण्टा राखेर डिस्चार्ज गर्दा समेत ३० औँ हजार बिल तिराउने नीजि अस्पताललाई कारबाही गर्ने हिम्मत किन सरकारले गरिरहेको छैन् भन्ने प्रश्न उब्जिएको छ । जनताको निशुल्क उपचारको मौलिक हक खोस्ने सरकार नीजि अस्पतालको लुटमा किन बेखबर जस्तो ? बिरामी राखेर उपचार गर्दा त चर्को शुल्क तिर्नुपर्छ नै कतिपय अस्पतालले त भर्नाका लागि बेड नै नभएको बहानामा जति भएपनि तिर्छु प्लिज मिलाईदिनुहोस न भन्ने बनाएर ठगी गरिरहेका छन् । सरकारी अस्पताल जाउँ बेडको अभाव, नीजि अस्पताल जाऔँ, उपचार शुल्क नै महंगो । अझ सरकारले नै गरेको निर्णय अनुसार चर्को धरौटी । अझ पछिल्लो समय त स्वास्थ्य मन्त्रालयद्धारा गरिने प्रेस ब्रिफिङ पनि दिन बिराएर गर्ने तालिका सार्वजनिक गर्नुले सरकार आफै जनस्वास्थ्यमाथि गम्भिर खेलवाड गरिरहेको छ भन्ने प्रष्ट देखिन्छ ।।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #पिसिआर परिक्षण, #स्वास्थ्य मन्त्रालय

तपाईको कमेन्ट लेख्नुहोस्