Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

अमेरिकाले किन निकाल्दै छ १५ हजार नेपालीसहित ४ लाख आप्रबासी ?


काठमाठौं । अमेरिकाले १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको संघीय अपिल अदालतले आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने निर्णय गरेसँगै अब ट्रम्प सरकारले टेम्पोररी प्रोटेक्सन स्टाटस टीपीएस अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देश निकाला गर्ने बाटो खुलेको हो ।

संघीय अपिल अदालतले आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने निर्णय सरकारको क्षेत्राधिकारभित्र रहेर गरेको ठहर गरेको छ । यसरी देश निकाला हुनेमा नेपालसहित, एल साल्भाडोर, हाइटी, निकारागुआ, सुडान र होन्डुराससहितका १० देशका आप्रवासीको संख्या बढी रहेको बताइएको छ । टीपीएस अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीको संख्या करिब ४ लाख आँकलन गरिएको छ । अदालतको पछिल्लो फैशलाले यी सबैलाई अमेरिकाबाट निकाल्न ट्रम्प सरकारलाई बाटो खुलेको छ ।

आफ्नो देशमा गृहयुद्ध, प्राकृतिक विपत्ति लगायतका कारणले बस्न नसकेको कारण देखाउँदै अमेरिका पुगेका विभिन्न देशका नागरिकलाई अमेरिकामा कानुनी रुपमा बस्न र काम गर्न अनुमति मिल्नेगरि टीपीएसको सुविधा ल्याइएको थियो । यो सुविधाले राष्ट्रिय सुरक्षामा खतरा भएको तथा रोजगारीमा अमेरिकीलाई प्राथमिकता भन्दै ट्रम्प सरकारले यसअघि नै विभिन्न देशका नागरिकले पाएको टीपीएस सुविधा खारेज गर्ने प्रयास गरेपनि कानूनी जटिलता र मुद्दा विचाराधीन रहेका कारण सम्भव भएको थिएन ।

अमेरिकाको नाइन्थ सर्किटको अपिल अदालतले २–१ को बहुमतले करिब ४ लाख आप्रवासीको अमेरिकामा कानुनी रुपमा बस्न पाउने अधिकारलाई खारेज गरिदिएसँगै अब करिब ४ लाख आप्रवासीले आफै अमेरिका नछाडे अमेरिकी सरकारले उनीहरुलाई डिपोर्ट गर्नसमेत सक्नेछ । २०७२ को विनाशकारी भूकम्पपछि अमेरिकाले नेपालीलाई टीपीएस सुविधा दिएका कारण यसको मारमा १५ हजार नेपाली पर्ने देखिएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #अमेरिका, #ट्रम्प सरकार

तपाईको कमेन्ट लेख्नुहोस्