Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

नेकपाको विवाद केन्द्रीय समितिमा लैजाने तयारी, ओली प्रचण्ड आ–आफनै रणनितिमा


काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक आज बस्दैछ । पछिल्लो पटक एक साताका लागि स्थगित गरिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ । यसअघि पार्टी भित्रको विवाद समाधानका लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिइएको थियो । तर, विवाद थप बल्झिएपछि हिजोको बैठकमा बरिष्ठ नेता माधबकुमार नेपालपनि सहभागि भएका थिए । प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन आग्रह गरेपछि विवाद झनै उत्कर्षमा पुगेको छ ।

ओलीले भने आफूले राजीनामा नदिने भन्दै सकेको प्रक्रिया अघि बढाउन चुनौती दिएका थिए । ओलीको यस्तो चेतावनीपछि छलफल बिना निष्कर्षसकिएका बेला आज स्थायी कमिटिको बैठक बस्न लागेको हो । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सुरु भएको विवाद सचिवालय, स्थायी समिति हुँदै अब केन्द्रीय कमिटीमा पुग्ने भएको छ । सरकार र पार्टी सञ्चालमा ओलीको कार्यशैलीबाट सुरु भएको नेकपा विवाद अहिले स्थायी समितिमा अल्झेको छ । स्थायी समिति बैठक रोकेर नेताहरु असार १८ गतेदेखि लगातार छलफलमा जुटेपनि विवाद समाधान हुन सकेको छैन् । बिहीबार अध्यक्षद्धय ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवटारमा भएको छलफल विना निष्कर्ष टुंगिएपछि नेकपाको विवाद नयाँ मोडमा पुगेको हो ।

बिहीबारको छलफलमा पनि दाहाल र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे पनि उनले यसअघि झै अस्वीकार गर्दै बहुमतबाट निर्णय लिन चुनौती दिए । असार १८ गते यता ओली दाहालबीच विवाद समाधनका लागि भन्दै सातपटक छलफल भएपनि विवाद ज्यू का त्यू छ । ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने र दाहाल नेपालललाई बहुमतका आधारमा आफूलाई हटाउने निर्णय गर्न धम्क्याएका थिए । दुई पक्ष आआफ्नो अडानमा स्थिर पनि नेताहरुले आज बोलाएको स्थायी समिति बैठक नरोक्ने पक्षमा छन् । सचिवालय र स्थायी समितिले समाधान गर्न नसकेको विवाद केन्द्रीय समितिमा लैजाँदा नेकपाभित्र थप संकट आउने देखिएको छ ।

बिहीबार बालुवाटारको बैठक निष्कर्षविहीन भएपछि ओली र दाहाल–नेपाल दुवै पक्षले गुट भेला गरेर भावी रणनीतिबारे छलफल गरे । दाहाल नेपाल पक्षले प्रचण्ड निवास खुमलटारमा भेला भएको थियो भने ओलीले निकट नेताहरुलाई बालुवाटारमै बोलाएका थिए । पार्टीको विवाद केन्द्रीय कमिटीमै छलफल हुनेपर्ने भन्दै नेता ठाकुर गैरेको नेतृत्वमा बैठक बोलाउन हस्ताक्षर अभियान पनि चलिरहेको छ । एक चौथाइ सदस्यले हस्ताक्षर गरेर बैठक माग गरे बोलाउनुपर्ने नेकपा विधानको व्यवस्था छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #स्थायी कमिटि बैठक

तपाईको कमेन्ट लेख्नुहोस्