Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

समिक्षा राजनीतिः काण्डै–काण्डको बर्ष २०७६


वर्ष २०७६ राजनीतिक क्षेत्रका लागि पनि उतार उचाढपूर्ण रह्यो । दुई ठूला कम्युनिष्ट पार्टी एक भएपनि यसभित्र देखिएको शक्ति संघर्ष, प्रतिपक्षी कांग्रेसको महाधिवेशन नजिकिएसँगै बढेको किचलो र मन्त्रि हेरफेरको विषयले बढि चर्चा पायो । सँगै २३ वर्षपछि भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले विशेष स्थान पायो ।

वर्ष २०७६ मा राजनीतिक क्षेत्र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका कारण जति चर्तित भयो तत्कालिन सभामुख कृष्णबहादुर महारको यौनकाण्ड र सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन काण्डले उतिनै तंरगित बन्यो । नेकपा भित्रको शक्ति संघर्ष र कांग्रेसको किचलो पनि वर्ष २०७६ मा मिडियामा छाइरह्यो ।
के के भयो वर्ष २०७६ मा राजनीति क्षेत्रमा ?
सरकारले गुमायो दुई तिहाई, फेरिए मन्त्री
निर्वाचनसँगै कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको दुई तिहाईको बलियो सरकारले वर्ष २०७६ आफ्नो दुई तिहाइ मत गुमायो । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाडेसँगै सरकार अहिले सामान्य बहुमतमा मात्रै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष नौ जना मन्त्रीलाई बर्खास्त गरेर नौ जना मन्त्रीलाई आफ्नो मन्त्रिपरिषद्मा भित्राएका छन् । यसरी बाहिरिनेमा लालबाबु पण्डित, गोकर्ण बिष्ट, रघुवीर महासेठ, चक्रपाणि खनाल, मात्रिका यादव र थममाया थापा छन् । त्यस्तै पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवलाई पनि हटाइएको छ ।
भित्रिनेमा मन्त्रीहरुमा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ रहेका छन्। त्यस्तै राज्यमन्त्रीहरूमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर छन् ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण
निकै लामो पतिक्षापछि चिनियाँ राष्ट्रपति सी जिन्पिङ दुईदिने राजकीय भ्रमणका लागि असोज २५ गते नेपाल आएका थिए । नेपालमा बहुप्रतीक्षित चिनियाँ राष्ट्रपतिको यो भ्रमणलाई सरकारको विशेष कूटनीतिक उपलब्धिका रूपमा अर्थायाइएको छ।
सीले नेपालमा २२ घण्टा समय बिताएका थिए । त्यसअवधिमा उनले नेपालका राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न दलका शीर्ष नेताहरुलाई भेट्ने र आफूले गर्न सक्ने सहयोगका विषयमा बचन दने काम गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय भेटवार्ता गर्ने क्रममा नेपाल–चीनबीच १५ समझदारी र २ लेटर अफ एक्सचेन्जमा हस्ताक्षर समेत भएको छ । सी नेपाल आउनुअघि २३ वर्ष पहिले सन् १९९६ मा चीनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको दुईदिने भ्रमण गरेका थिए। त्यसयता नेपालमा कोही पनि चिनियाँ राष्ट्रप्रमुख नेपाल आएका थिएनन् ।
बलात्कार आरोपमा महरा पक्राउ, अदालतबाट सफाइ
संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा तत्कालिन कृष्ण बहादुर महरा असोज १९ गते दशैंका बेला पक्राउ परेका थिए । पीडित कर्मचारीले दिएको जाहेरीका आधारमा महरालाई प्रहरीले पक्राउ गरेको थियो ।
महरामाथि असोज १२ गते राति संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भएको थियो । महराले पार्टीको दबाबमा असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । बलात्कार आरोपमा पक्राउ परेका महरा १ सय ३ दिनपछि डिल्ली बजार कारागारबाट रिहा भएका थिए । काठमाडौं जिल्ला अदालतले अभियोगअनुसार दाबी नपुगेको भन्दै सफाइ दिएपछि उनी जेलबाट छुटेका हुन्
जिउँदै मान्छे जलाएको आरोपमा १२ वर्षपछि पूर्वमन्त्री आलम पक्राउ
वर्ष २०७६ को अर्को चर्चित काण्ड हो आलम पक्राउ प्रकरण । १२ वर्षअघि इँटाभट्टामा जलाएर दर्जन बढि व्यक्तिको हत्या गरेको अभियोग लागेका सांसद मो अफताब आलम असोज २६ गते पक्राउ परेका थिए । उनी पूर्वमन्त्रीसमेत हुन् ।
सर्वाेच्च अदालतले उनलाई नियन्त्रणमा लिई ‘कानुनी कारबाही गर्न’ ७ वर्षअघि आदेश दिएको थियो । २०६४ मा भएको पहिलो संविधानसभा चुनाव जित्नका लागि बम पड्काउने योजना अनुरुप आफैले बम बनाउन लगाएको र उक्त बम बनाउने क्रममा चैत २७ मा विस्फोट भएपछि घटना लुकाउन घाइते भएका सबै जनालाई इट्टा भट्टामा लगेर उनले जलाउन लगाएको आरोप लागेको छ ।
तत्कालिन सञ्चारमन्त्री बाँस्कोटाको ७० करोड काण्ड
भ्रष्टाचार र कमिसनको खेलमा उच्च पदस्तहरु नै संलग्न हुने गरेको घटना पर्दाफास भएको वर्ष हो, वर्ष २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटा आफैले ७० करोड कमिसनका लागि डिल गरेको अडियो फागुन ८ गते सार्वजनिक भएको थियो । उनले यो अडियो सार्वजनिक भएपछि चर्को दबाब सहन नसकेर फागुन ८ गते नै पदबाट राजिनामा गरेका थिए ।
फागुन १५ प्रधानन्त्री ओलीले उनको बचाउँ गर्दै बाँस्कोटालाई फसाइयो भनेर सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । फागुन १६ गते बाँस्कोटाले अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली–बेइज्जतीको मुद्दा दायर गरेका छन् ।
एजेन्डासहित पहिलो पटक नेकपाको केन्द्रिय कमिटि बैठक
तत्कालिन एमाले र माओवादी एक भएपछि पहिलो पटक एजेन्डासहित सत्तारुढ दल नेकपाको केन्द्रिय कमिटीको बैठक बसेको छ ।
माघ १५ गते बसेको बैठक ४ दिन चलेको थियो । बैठकले पार्टी भित्रको आन्तरिक किचलो मिलाउने, एमसीसीको विषयमा ठोस धारणा बनाउने भने पनि कुनै ठोस निर्णय लिन सकेन । अहिले पनि नेकपा भित्र आन्तरिक संघर्ष चलिराखेको छ ।
राप्रपाबीच फेरि एकिकरण
वर्ष २०७६ को अन्त्यमा हिन्दुराष्ट्रका पक्षधर राष्ट्रिय प्राजन्त्र पार्टी एक भएको छ । पटक पटक जुट्ने र फुट्ने गर्दै आएको राप्रपा कमल थापा पशुपति शमशेर जवरा र डा. प्रकाशचन्द्र लोहनी अर्को महाधिवेशन नहुन्जेलसम्मका लागि अध्यक्ष रहने गरि फागुन २८ गते एक भएका हुन् । यहि मात्रै होइन उपसभामुखको पनि पद गएको, नयाँ सभामुखमा अग्नि सापकोटा चयन भएको, उपनिर्वाचन भएको लगायतका विषयले पनि वर्ष २०७६ मा चर्चा पायो ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख, समाचार
ट्याग : #समिक्षा राजनीति

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं