Techie IT
  • २४ वैशाख २०८२, बुधबार
KhojPatrika

मुआब्जा बितरणको समस्याले सडक बिस्तार अवरोध


संघीय राजधानी काठमाडौं । अवसर र सुविधा खोज्दै काठमाडौं उपत्यका भित्रिनेहरुको अहिले पनि कमी छैन, यहाँ । जति राजधानी भरिभराउ हुदैछ त्यति नै संरचना निर्माणको खाँचो पनि बढिरहेको छ । त्यहि चापलाई मध्यनजर गर्दे काठमाडौं उपत्यकामा सडक बिस्तारको काम पनि सुरु गरियो । तर, अहिले उपत्यकाको सडक बिस्तार काम लगभग ठप्प जस्तै छ । काठमाडौं उपत्यकाका अधिकांश सडक बिस्तारको काम मुआब्जा बितरण गर्न नसक्दा रोकिएको छ । सर्बोच्च अदालतले जग्गा धनीलाई मुआब्जा दिएर मात्रै सडक बिस्तार गर्न अन्तरिम आदेश दिएका कारण सडक बिस्तार रोकिएको हो । सरकारले जग्गाधनीलाई मुआब्जा दिन नसक्दा सडक बिस्तारमा स्थानीयले अवरोध गर्दे आएका छन् । सर्बोच्च अदालतले दिएको अन्तरिम आदेश सरकारले पूरा गर्न नसक्दा सडक बिस्तारको काम ठप्प भएको हो । काठमाडौं उपत्यकामा सडक बिस्तार हुन लागेका बौद्ध जोरपाटी साँखु, त्रिपुरेश्वर कलंकी, कलंकी थानकोट, सातदोबाटो लगनखेल, सातदोवाटो चापागाउँ, सातदोबाटो गोदावरी, ग्वार्खु लुभु सडक खण्ड लगायतका अधिकांश सडक मुआब्जा बिबादकै कारण बिस्तार हुन सकेका छैनन् । सडक बिस्तार बिचमै छोडिएपछि हिँउदमा धुलोले कतिबेला आँखा छोपिएला भन्ने त्रास रहेको काठमाडौं उपत्यका वर्षायामसँगै सडकमा हिँड्दा खाल्डोमा परिन्छ कि भन्ने जोखिमको शहर बनिरहेको छ । सडकका खाल्डा पुर्ने मिति धेरै पटक तय भए, प्रधानमन्त्री र मन्त्रिहरुबाट पटक–पटक निर्देशन जारी भएपनि यी सबै मितिमा कुनै उपलब्धि भएनन् । काठमाण्डौ उपत्यकाका अधिकांश सडकको विशेषता भनेकै घाम लाग्दा धुलो उँड्ने र पानी पर्दा हिलाम्य हुने हो । पैदल यात्रुका लागि त काठमाडौंका सडक कहिल्यै समाधान नहुने यातना स्थल बनेका छन् । धुलो र हिलोबाट आजित भएका उपत्यकावासी सम्बन्धित निकायले कुनै चासो नदिएको गुनासो गरिरहेका छन् । प्रधानमन्त्री केपी ओली काठमाडौका अस्तव्यस्त सडककै कारण आलोचित छन् । प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको निर्देशनले पनि काठमाडौंका सडक सुधार्न सकेको छैन । ललितपुरको सडक बिभागले त समन्वय नै नभएको बताइरहेको छ । आठ मिटरभन्दा साना सडक महानगरपालिकाको मातहतमा पर्छन् । आठ मिटर भन्दा माथिका सडक खण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यक्षेत्रमा पर्ने भएपनि खाल्डा खुल्डी, धुलो र हिलोको समस्या अधिकांश सडकमा छ । सडक विभागदेखी स्थानीय सरकारसम्म सडक समस्या समाधानमा बेखबर देखिएका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्