कहिले पुरिएलान उपत्यकाका खाल्डाखुल्डी

खाल्डो भन्नासाथ तपाईलाई सडकको अवस्थाको याद आउन सक्छ । अझ भनौँ काठमाडांै उपत्यकाका सडक सम्झिनुहुन्छ होला । हो, संघीय राजधानी काठमाडांै रहेको उपत्यकाभित्रका सडक अस्तव्यस्त छन् । वर्षायाममा सडकमा हिँड्दा कतिबेला खाल्डोमा परिन्छ भन्ने त्रास छ । वर्षौँदेखिको यो समस्या अझै उस्तै छ । नेकपा अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि काठमाडांैका सडक अस्तव्यस्त भएकै कारण बढि आलोचना खेप्नुपर्यो । त्यतिमात्रै होइन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेपछि रघुवीर महासेठले बारम्बार सामना गर्नुपरेको प्रश्न हो–सडकका खाल्डा कहिले पुरिन्छन् । उनले हरेक पटक जवाफ पनि दिए । तर उनले दिएको जवाफ, अझ भनौँ सडकका खाल्डा पुर्ने मिति जतिपटक तय गरे ति सबै मितिमा कुनै उपलब्धि भएन । काठमाण्डौ उपत्यकाका अधिकाशं सडकको विशेषत भनेकै घाम लाग्दा धुलो उँड्ने र पानी पर्दा हिलो । पैदल यात्रुका लागि त काठमाडौंका सडक कहिल्यै समाधान नहुने यातना स्थलझैं बनेको छ । विकराल समस्या हुँदा पनि सम्बन्धित निकायले कुनै चासो नदिएको सर्वसाधारणको गुनासो छ । आठ मिटरभन्दा साना सडक महानगरपालिकाको मातहतमा पर्छन् । आठ मिटर भन्दा माथिका सडक खण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहत पर्दछ । तर जुन सडक खण्ड हेरेपनि खाल्डा खुल्डी, धुलो र हिलो मात्र देखिन्छ । न महानगरले जिम्मेवारी पूरा गर्यो, न सडक विभागले । समस्या एकातिर छ सरकारको दावी अर्कैतिर । अनौठो त के भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले त सडकमा समस्या नै नभएको दावी गरे । सायद मन्त्रालयका प्रवक्ता ज्ञवालीज्यू काठमाण्डौका यि सडकमा पुग्नुभएकै छैन होला । तर ज्ञवालीलाई जानकारी होस््, यस्ता सडकले सवारी साधन, चालक, पैदलयात्रु र सर्वसाधारण सबै हैरान छन् । प्रवक्ताज्यू, तपाई नपुगे पनि हामीले देखाएका यि दृश्य झुटो होइन । अब के गर्ने ?
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख
ट्याग : #sadak
तपाईको कमेन्ट लेख्नुहोस्