भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री शाहबीच भेटवार्ता, के के भयो कुराकानी ?
काठमाडौं । नेपाल–भारत कूटनीति फेरि उच्चस्तरीय संवादको चरणमा प्रवेश गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति र एजेन्डा तय गर्ने तयारी भइरहेका बेला भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आएर प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म भेटवार्ता गरेका छन् । मोदीको निम्तोदेखि आर्थिक सहायता र विकास आयोजनासम्मका विषयमा भएको छलफलले प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई अर्थपूर्ण बनाएको छ । भारतका विदेश सचिव विक्रम मिस्रीको दुईदिने नेपाल भ्रमणले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीलाई केन्द्रमा राखेको छ । बालेन प्रधानमन्त्री बनेपछि भारतबाट भएको यो पहिलो उच्चस्तरीय आधिकारिक भ्रमण हो ।
कात्तिक १८ र १९ गते भएको भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका प्रमुख मन्त्री र उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । बुधबार काठमाडौं आइपुगेका मिस्रीले सबैभन्दा पहिले नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर रायसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरे । त्यसक्रममा दुई देशबीचको समग्र सम्बन्ध, उच्चस्तरीय भ्रमण आदानप्रदान, व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार विकास, कनेक्टिभिटी र जनस्तरको सम्बन्ध विस्तारबारे छलफल भयो ।
त्यसपछि उनले परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै भेटवार्ता गरे । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक भारत भ्रमणको निम्तोसमेत हस्तान्तरण गरे । प्रधानमन्त्रीसँगको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार, पारवहन, कनेक्टिभिटी, विकास सहयोग र सांस्कृतिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको बताइएको छ ।
भ्रमणका क्रममा सबैभन्दा महत्वपूर्ण विषय प्रधानमन्त्री बालेनको भारत भ्रमण र त्यसमा प्रस्तुत गरिने एजेन्डा बनेको छ । नेपालले भारतसँग बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, विकास पूर्वाधार र आर्थिक सहयोगका लागि दुई अर्ब अमेरिकी डलरभन्दा बढीको सहायता प्याकेज प्रस्ताव गरेको छ । यसमा एक अर्ब डलरभन्दा बढी सहुलियतपूर्ण ऋण, पाँच सय मिलियन डलर अनुदान र थप पूर्वाधार विकास सहयोग समेटिएको छ ।
भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि नेपालले पाँच सय मिलियन डलर अनुदान माग गरेको छ । भारतीय विदेश सचिव मिस्रीले बाढीबाट नेपालमा भएको ठूलो क्षतिप्रति भारत जानकार रहेको र पुनर्निर्माण तथा पुनःस्थापनाका लागि नेपालका प्रस्तावमाथि सहयोग गर्न भारत तयार रहेको बताएका छन् । तर, सहायता रकम र त्यसको कार्यान्वयन प्रक्रियाबारे अन्तिम सहमति भने भएको छैन ।
भारत भ्रमणका क्रममा नेपाल प्रहरी प्रतिष्ठान, दार्चुलाको पुल, भैरहवाको एकीकृत जाँच चौकी र महाकाली नदीमाथिको मोटरेबल पुल उद्घाटन गर्ने तथा दोधारा चाँदनीको एकीकृत जाँच चौकी, तल्लो अरुण जलविद्युत् आयोजना र सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माणको सुरुवात गर्ने तयारीसमेत छ । अयोध्या–जनकपुरधाम रेल सेवासम्बन्धी कार्यक्रम पनि भ्रमणको सम्भावित आकर्षणका रूपमा हेरिएको छ ।
मिस्रीको भ्रमणबाट तत्काल कुनै ठूलो सम्झौता वा आर्थिक सहायता प्याकेजमा हस्ताक्षर भएको छैन । तर, प्रधानमन्त्रीको भारत भ्रमणमा उठाइने विषयको प्रारम्भिक खाका तयार पार्ने, नेपालका प्राथमिकता भारतीय पक्षसमक्ष राख्ने र दुई देशबीच उच्चस्तरीय संवाद अघि बढाउने काम भएको छ । त्यसैले यो भ्रमणको वास्तविक उपलब्धि प्रधानमन्त्री बालेनको भारत भ्रमणमा हुने सहमति, सम्झौता र कार्यान्वयनबाट मापन हुनेछ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १२३ वर्षे अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम लगाउँदै रोनाल्डो
- २भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री शाहबीच भेटवार्ता, के के भयो कुराकानी ?
- ३रविले भने आइजीपी परिवर्तनको औचित्य सरकारले पुष्टी गर्ला
- ४सरकार र प्रमुख प्रतिपक्षबीच टकराव चुलियो, गगनले दिए सरकारलाई चुनौती
- ५किन बढ्यो प्रधानमन्त्री बालेन र कांग्रेस सभापति गगनबीच टकराव ?



तपाईको कमेन्ट लेख्नुहोस्