Techie IT
  • २० कात्तिक २०८३, बिहीबार
KhojPatrika

सरकार र प्रमुख प्रतिपक्षबीच टकराव चुलियो, गगनले दिए सरकारलाई चुनौती


काठमाडौं । सत्ता र प्रतिपक्षबीचको टकराव अब राजनीतिक आरोप–प्रत्यारोपबाट व्यक्तिगत प्रतिष्ठाको लडाइँमा परिणत हुँदैछ । कांग्रेसको आधिकारिकता विवादमा बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर आफूलाई बदनाम गर्न खोजिएको भन्दै सभापति गगनकुमार थापाले मुख खोलेका छन् । आर्थिक लेनदेनदेखि नैतिक आचरणसम्म उठेका प्रश्नको खण्डन गर्दै थापाले आफ्नो हातमा दाग नभएको र नैतिक धरातल कमजोर नभएको दाबी गरेका छन् । एकातिर थापालाई पक्राउ गर्न सक्ने चर्चा, अर्कोतिर कांग्रेस नेताहरूमाथि धरपकडको चर्चा ।

यतिबेला राजनीति यसैमा घुमिरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीचको टकराव व्यक्तिगत आरोप–प्रत्यारोपसम्मै पुगेको छ । कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर सभापति गगनकुमार थापामाथि प्रश्न उठिरहेका बेला उनले सार्वजनिक भिडियोमार्फत आफ्नो बचाउ गरेका छन् । आर्थिक लेनदेनदेखि नैतिक आचरणसम्मका आरोप अस्वीकार गर्दै थापाले आफ्नो हात सफा रहेको र आफू कुनै कमजोर नैतिक धरातलमा नउभिएको दाबी गरेका छन् ।

पक्राउ पर्न सक्ने चर्चाबीच आएको उनको यो अभिव्यक्तिलाई सरकारसँगको टकरावमा राजनीतिक प्रतिवादका रूपमा समेत हेरिएको छ । पार्टीको आधिकारिकतासम्बन्धी कानुनी लडाइँमा आफूलाई बदनाम गर्न खोजिएको थापाको भनाइ छ । इनम सापकोटाको सार्वजनिक अडियो र त्यससँग जोडिएका आर्थिक लेनदेनका चर्चालाई खण्डन गर्दै उनले आधिकारिकताको कानुनी प्रक्रियामा एक सुकाको पनि आर्थिक लेनदेन वा अनुचित काम नभएको स्पष्ट पारेका छन् ।

थापाले आफूलाई समर्थन गर्ने नेता तथा कार्यकर्तालाई पनि विचलित नहुन आग्रह गरेका छन् । आफ्नो चरित्र र इमानदारीमाथि प्रश्न उठाएर राजनीतिक रूपमा कमजोर पार्न खोजिएको उनको आशय छ । उनले गलत प्रश्न आफूलाई नभई सम्बन्धित व्यक्तिलाई सोध्नुपर्ने भन्दै सही प्रश्न सही ठाउँमा उठाउन आग्रह गरेका छन् । आफूले विगतमा शक्तिशाली सरकारका गलत कामको विरोध गरेको र आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा पनि गलत कामविरुद्ध बोल्न नछाडेको स्मरण गराउँदै थापाले अहिले पनि नडराउने सन्देश दिएका छन् ।

उनका अनुसार आफ्नो नैतिक बल र इमानदारी नै चुनौतीहरूको सामना गर्ने आधार हो । तर, थापामाथि प्रश्न उठेको विषय केवल सार्वजनिक आरोप–प्रत्यारोपमा सीमित छैन । कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको भनिएको बयान सार्वजनिक भएपछि त्यसको निष्पक्षता र सार्वजनिक गर्ने प्रक्रियामाथि कांग्रेसले प्रश्न उठाउँदै आएको छ ।

उक्त बयान प्रधानमन्त्रीको सचिवालयको योजनामा सार्वजनिक गरिएको कांग्रेसको आरोप छ । यद्यपि, यसबारे स्वतन्त्र पुष्टि भएको छैन । सभापति थापामाथि प्रहरी निगरानी बढाइएको र पक्राउ हुन सक्ने चर्चा पनि चलिरहेको छ । तर, पक्राउ गर्ने कुनै आदेश वा निर्देशनको पुष्टि भैसकेको छैन ।

यसरी आरोप, प्रत्यारोप र प्रहरी अनुसन्धानको चर्चा एकैसाथ अघि बढ्दा थापाले आफ्नो नैतिकता र स्वच्छतालाई राजनीतिक प्रतिरक्षाको मुख्य आधार बनाएका छन् । तर, सार्वजनिक दाबी र राजनीतिक प्रतिवादले मात्रै विवादको निरूपण हुने छैन । आर्थिक लेनदेनको आरोपमा सत्य के हो र आधिकारिकताको विवादमा कसको भूमिका के थियो भन्ने प्रश्नको जवाफ निष्पक्ष छानबिन र प्रमाणले नै दिनुपर्नेछ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्