बालेनलाई रविको निर्देशन, पत्रकार पक्राउ गर्नेमाथि कारवाही गर्नुहोस्
काठमाडौं । सरकार चलाउने बालेन शाह, सरकारका गल्तीको जवाफ दिने रास्वपा सभापति रवि लामिछाने । आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारलाई पटक–पटक निर्देशन दिनुपर्ने अवस्थामा रास्वपा पुगेको छ । सुकुम्बासी बस्ती हटाउनेदेखि पत्रकार पक्राउसम्मका विवादमा प्रधानमन्त्रीभन्दा पार्टी सभापति बढी जवाफदेही देखिँदा बालेन र रविबीचको सम्बन्ध र पार्टी–सरकार समन्वयमाथि प्रश्न उठेको छ । बालेन चुपचाप रहँदा रास्वपाका पटक–पटक दिइएका निर्देशन समेत अलपत्र छन् । सरकारको नेतृत्व आफ्नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले गरिरहेका छन् । तर, सरकारका निर्णय विवादमा पर्दा स्पष्टीकरण दिने, कमजोरी सच्याउन निर्देशन दिने र सरकारलाई जवाफदेही बनाउनुपर्ने भूमिका भने पार्टी सभापति रवि लामिछानेले निर्वाह गरिरहेका छन् ।
सरकार र पार्टी एउटै राजनीतिक शक्तिका दुई संरचना भएपनि उनीहरूबीच अपेक्षित समन्वय देखिएको छैन । पछिल्ला घटनाक्रमले रास्वपाभित्रै सरकारको कार्यशैली र प्रधानमन्त्रीको राजनीतिक जवाफदेहितामाथि प्रश्न उठाएको छ । सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णयदेखि सञ्चारमाध्यमका गेटमा सवारीसाधन राखेर अवरोध सिर्जना गर्ने घटनासम्म पार्टी नेतृत्वले सरकारलाई सच्याउनुपर्ने अवस्था आएको थियो । सुकुम्बासी बस्ती हटाउने क्रममा मानवीय संवेदनशीलता र वास्तविक भूमिहीनको व्यवस्थापनको प्रश्न उठ्दा पनि पार्टी सभापति रवि लामिछानेले नै सार्वजनिक रूपमा जवाफ दिनुपरेको थियो ।
त्यतिबेला पार्टीभित्र पर्याप्त छलफल नगरी सरकारले अघि बढेको भन्दै नेताहरूले असन्तुष्टिसमेत जनाएका थिए । त्यसैगरी, सञ्चारगृहका गेटमा गाडी राखेर अवरोध सिर्जना गरिएको घटनामा पनि पार्टीले सरकारलाई यस्ता गतिविधि नदोहो¥याउन निर्देशन दिएको थियो । तर, यस्ता विषयमा पार्टीको असन्तुष्टि र सरकारलाई दिइएका निर्देशन सार्वजनिक रूपमा भने खासै बाहिर आएनन् । पछिल्लो पटक पत्रकार पक्राउ र सञ्चारगृहमा प्रहरी प्रवेशको घटनाले फेरि सरकारलाई पार्टीकै कठघरामा उभ्याएको छ ।
कात्तिक १३ गते समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएपछि प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री, सचिवालय र प्रधानमन्त्री कार्यालयलाई घटनाबारे पूर्वजानकारी नभएको स्पष्टीकरण दियो । जानकारी पाएपछि प्रधानमन्त्रीले पत्रकारलाई रिहा गर्न निर्देशन दिएको सचिवालयको भनाइ छ । तर, प्रहरी प्रशासनको यस्तो कदमबारे सरकारकै नेतृत्व अनभिज्ञ रहेको जवाफले सरकारी संयन्त्रको जवाफदेहितामाथि प्रश्न उठाएको छ ।
यसै घटनापछि बसेको रास्वपा सचिवालय बैठकले सरकारलाई कडा निर्देशन दियो । सञ्चारमाध्यममा प्रहरी प्रवेश र पत्रकार पक्राउको आदेश कसले दियो भन्ने विषयमा तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न पार्टीले सरकारलाई भनेको छ । सभापति लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नरहेको भन्दै गल्ती गर्ने व्यक्ति जोसुकै भए पनि कारबाही हुनुपर्ने चेतावनी दिएका छन् । तर, प्रश्न रविमाथि पनि उत्तिकै छ ।
विगतमा सरकारका कमजोरीको जिम्मेवारी पार्टीले पनि लिनुपर्ने बताउने रास्वपा अहिले सरकारका विवादमा निर्देशन दिएर मात्रै किन पन्छिँदैछ भन्ने प्रश्न उठेको छ ? सरकारको नेतृत्व बालेनले गर्ने र पार्टी सञ्चालन रविले गर्ने सहमति भएपनि प्रधानमन्त्री बनेपछि बालेन पार्टीका नियमित बैठकमा सहभागी भएका छैनन् । पार्टी र सरकारबीचको संस्थागत संवाद कमजोर हुनुको एउटा कारण यही पनि देखिएको छ ।
यद्यपि, बालेन र रविबीच असमझदारी बढेको चर्चा भइरहेका बेला असोज १२ गते दुवै नेताबीच करिब चार घण्टा छलफल समेत भएको थियो । सरकारको कामकारबाही, प्रहरी नेतृत्व, प्रशासनिक निर्णय र पार्टीका विषयमा उनीहरूबीच छलफल भएको बताइएपनि एकले अर्कोलाई दिएको सुझावले काम गरेको देखिएन । यसले संवाद जारी रहेको देखाएपनि मतभिन्नता समाधान भएको स्पष्ट देखिएन ।
सरकारका निर्णयमा विवाद आउँदा रविले जवाफ दिनुपर्ने र पार्टीले पटक–पटक सरकारलाई निर्देशन दिनुपर्ने अवस्था दोहोरिँदै गएको छ । पार्टीको नेतृत्व र सरकारको नेतृत्वबीच जिम्मेवारी, अधिकार र निर्णय प्रक्रियामा स्पष्ट तालमेल नहुँदा रास्वपाको राजनीतिक जवाफदेहितामाथि नै प्रश्न उठिरहेको छ । पार्टी विधान र संसदीय दलको संरचनाले प्रधानमन्त्रीको भूमिकालाई कसरी व्यवस्थित गर्छ भन्ने विषय पनि महत्वपूर्ण छ । तर, बालेनलाई फिर्ता बोलाउने गरी रविले जुनसुकै बेला निर्णय गर्न सक्ने विश्लेषण समेत हुन थालेको छ । प्रश्न भने उही छ—सरकार बालेनको, पार्टी रविको; तर सरकारको गल्तीको जवाफदेहिता कसले लिने ? ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्