Techie IT
  • १२ कात्तिक २०८३, बुधबार
KhojPatrika

गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ


काठमाडौं । उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

बुधबार कुलमान घिसिङज्यूको नेतृत्वको टोलीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट सम्पन्न गर्न तथा विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न माग गर्दै प्रमुख निर्वाचन आयुक्तसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनलाई दलीय स्वार्थ र राजनीतिक शक्ति प्रदर्शनबाट मुक्त गर्दै नागरिकको प्रत्यक्ष सेवा, सुशासन र विकासमा केन्द्रित बनाउन गैरदलीय निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने माग गरिएको छ । त्यस्तै स्थानीय तहको नेतृत्व चयन गर्दा दलगत प्रभावभन्दा उम्मेदवारको योग्यता, इमानदारी, कार्यक्षमता, कार्ययोजना र नागरिकप्रतिको जवाफदेहितालाई प्राथमिकता दिनुपर्ने पार्टीको धारणा रहेको अध्यक्ष घिसिङले बताए ।

ज्ञापनपत्रमा स्थानीय तहको निर्वाचनमा दलीय प्रतिस्पर्धाले स्थानीय मुद्दा ओझेलमा पर्ने, राजनीतिक ध्रुवीकरण बढ्ने तथा निर्वाचन खर्च र आर्थिक चलखेलको जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ ।

त्यसैगरी वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय तथा अन्य प्रयोजनका लागि विदेशमा रहेका नेपाली नागरिकलाई आफ्नो स्थायी ठेगाना रहेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न ज्ञापनपत्रमार्फत माग गरिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्