Techie IT
  • २३ साउन २०८३, शनिबार
KhojPatrika

रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो


काठमाडौं । रुकुमेलीहरूबीचको एकता, सहकार्य, सामाजिक सेवा तथा समग्र रुकुमको विकासमा योगदान पुर्‍याउने उद्देश्यले “रुकुमेली सेवा समाज” स्थापना गर्ने औपचारिक प्रक्रिया अघि बढेको छ ।

देश तथा विदेशमा रहेका रुकुमेलीहरूको ज्ञान, सीप, अनुभव, स्रोत, सम्पर्क, क्षमता तथा सामाजिक पूँजीलाई संस्थागत रूपमा एकीकृत गर्दै रुकुमेली समुदायको हित र रुकुमको समग्र विकासमा परिचालन गर्ने उद्देश्यले शनिबार काठमाडौंमा रुकुमेलीहरूको एक महत्वपूर्ण छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो ।

रुकुमेलीहरू राजनीति, शिक्षा, स्वास्थ्य, निजामती सेवा, सुरक्षा निकाय, न्याय, व्यवसाय, उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि, विकास साझेदारी, वैदेशिक रोजगारी तथा सामाजिक सेवाका विभिन्न क्षेत्रमा ठूलो संख्यामा सक्रिय छन् ।

उनीहरूले आर्जन गरेको ज्ञान, अनुभव र दक्षतालाई एउटै साझा संरचनामार्फत समुदाय र मातृभूमिको विकासमा परिचालन गर्न सक्ने विश्वसनीय, पारदर्शी र दिगो संस्थाको आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको सहभागीहरूले बताएका छन् ।

काठमाडौंमा आयोजित छलफलमा रुकुमेलीहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले रुकुमेलीहरूको साझा पहिचानलाई संस्थागत गर्दै आपसी सहयोग, सद्भाव, सम्मान, सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । भेलामा रुकुमेली सेवा समाजलाई कुनै व्यक्ति, समूह वा क्षेत्रविशेषको संस्था नभई सम्पूर्ण रुकुमेलीहरूको साझा संस्थाका रूपमा विकास गर्नुपर्नेमा सहभागीहरूबीच धारणा रहेको थियो ।

छलफलपछि रुकुमेली सेवा समाजलाई विधिवत् रूपमा स्थापना गर्न आवश्यक कानुनी, संगठनात्मक तथा संस्थागत तयारी अघि बढाउन दिनेश खड्काको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । तयारी समितिमा एकराज के.सी., लोकेन्द्र खनाल, धनवीर दाहाल, लोकेन्द्र यरी, खिमप्रकाश बुढा, महानराज ओली, रामबहादुर ओली, मञ्जु के.सी, बालकृष्ण शर्मा, लक्ष्मण के.सी, आकृती चन्द, लक्ष्मी खड्का ओली, सागर पुन, अनुराग शाह र भीम ओली लगायतको सहभागिता थियो ।

समितिले संस्थाको कानुनी तथा संगठनात्मक संरचना, लगायतका आवश्यक तयारी अघि बढाउनेछ । समितिले आगामी दुई साताभित्र प्रारम्भिक तयारी पूरा गरी बृहत् रुकुमेली सभा आयोजना गर्ने र उक्त सभामार्फत रुकुमेली सेवा समाजको औपचारिक संस्थागत संरचना घोषणा गर्ने निर्णय गरेको छ।

प्रस्तावित समाजले रुकुमेली समुदायसँग रहेको मानवीय तथा बौद्धिक पूँजीलाई रुकुमको विकाससँग जोड्ने योजना बनाएको छ । समाजले विपद् तथा आपतकालीन अवस्थामा राहत, उद्धार तथा सहयोग, स्वास्थ्य सहायता, स्वास्थ्य शिविर, रक्तदाता सञ्जाल, शिक्षा तथा छात्रवृत्ति, सीप विकास, युवा तथा महिला सशक्तीकरण, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन लगायतका क्षेत्रमा काम गर्ने लक्ष्य राखेको छ।त्यसैगरी पर्यटन, स्थानीय उत्पादन, वातावरण संरक्षण, भाषा, कला, साहित्य तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखिने तयारी गरिएको छ।

रुकुममा रहेका तथा देश–विदेशमा छरिएर रहेका रुकुमेली प्रतिभाको पहिचान, सम्मान र प्रोत्साहनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने योजना पनि समाजले अघि सारेको छ । देश तथा विदेशमा रहेका रुकुमेलीलाई एउटै सञ्जालमा जोड्न समाजले डिजिटल रुकुमेली नेटवर्क निर्माण गर्ने योजना अघि सारेको छ।यसबाट रुकुमेलीबीच सूचना, अवसर, रोजगारी, ज्ञान, सीप तथा अनुभव आदान-प्रदान गर्ने तथा आवश्यकताका समयमा एकअर्कालाई सहयोग गर्ने संरचना विकास गर्ने लक्ष्य राखिएको छ।

दीर्घकालमा रुकुम विकास कोष, छात्रवृत्ति अक्षय कोष, विपद् व्यवस्थापन संयन्त्र, अनुसन्धान तथा नीति अध्ययन केन्द्र तथा प्रतिभा सम्मान कार्यक्रमजस्ता स्थायी संरचना निर्माण गर्ने अवधारणा पनि अघि सारिएको छ । समाजले रुकुमको विकासका सम्भावना, चुनौती र आवश्यकताका विषयमा अध्ययन, अनुसन्धान तथा नीति संवाद सञ्चालन गरी सम्बन्धित सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, विकास साझेदार तथा नागरिक समाजसँग सहकार्य गर्ने लक्ष्य लिएको छ।यस संस्थालाई गैरनाफामूलक, गैरराजनीतिक, समावेशी, पारदर्शी, सहभागितामूलक तथा उत्तरदायी सामाजिक संस्थाका रूपमा विकास गरिने तयारी समितिले जनाएको छ।

रुकुमेलीहरू विभिन्न राजनीतिक विचार, पेशा, भूगोल र सामाजिक पृष्ठभूमिमा रहे पनि रुकुमेली पहिचान र मातृभूमिप्रतिको अपनत्वलाई साझा आधार बनाएर संस्थालाई अघि बढाइने बताइएको छ ।

संयोजक दिनेश खड्काले संस्था कुनै व्यक्ति वा समूहको नभई सम्पूर्ण रुकुमेलीहरूको साझा अभियानका रूपमा स्थापित गरिने बताए । उनका अनुसार रुकुमेलीहरूबीच रहेको सम्बन्धलाई केवल भेटघाट र भावनात्मक सम्बन्धमा सीमित नराखी त्यसलाई संस्थागत सहकार्य, सामाजिक सेवा र विकास साझेदारीमा रूपान्तरण गर्नु अहिलेको मुख्य आवश्यकता हो । “रुकुमेलीहरू जहाँ भए पनि आफ्नो ज्ञान, सीप, अनुभव र क्षमतालाई रुकुमको आवश्यकता र सम्भावनासँग जोड्ने वातावरण निर्माण गर्नुपर्छ,” संयोजक खड्काले भने, “रुकुमेली सेवा समाज त्यसैको साझा प्रयास हो ।”

तयारी समितिले नेपाल तथा विदेशमा रहेका सम्पूर्ण रुकुमेली दाजुभाइ तथा दिदीबहिनी, बुद्धिजीवी, पेशाकर्मी, व्यवसायी, उद्यमी, समाजसेवी, युवा, महिला, विद्यार्थी तथा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई अभियानमा जोडिन आह्वान गरेको छ । समितिले रुकुमेलीहरूको ज्ञान, सीप, अनुभव, स्रोत, सम्पर्क र सामाजिक पूँजीलाई एकीकृत गरी रुकुमेली समुदायको हित तथा रुकुमको समग्र विकासमा परिचालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

यस अभियानको मूल भावना रुकुमेलीहरूबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै आवश्यकतामा एकअर्कालाई साथ दिने, प्रतिभालाई सम्मान गर्ने, अवसर सिर्जना गर्ने र रुकुमको विकासमा सामूहिक योगदान पुर्‍याउने रहेको समितका सदस्य एकराज के.सी.ले बताए ।

अभियानको साझा उद्देश्यलाई “पहिचान, एकता, सेवा, सम्मान र समृद्ध रुकुम” भन्ने मूल नाराका रूपमा अघि सारिएको छ ।तयारी समितिका सदस्य लोकेन्द्र खनालले प्रारम्भिक चरणमा रुकुमेलीहरूबाट प्राप्त साथ, सद्भाव, सुझाव र रचनात्मक सहयोगले अभियानलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने भन्दै यस अभियानमा जोडिन आहवान गरेका थिए ।

आगामी दुई साताभित्र आयोजना हुने बृहत् रुकुमेली सभाले समाजको औपचारिक संरचना, नेतृत्व र आगामी कार्यदिशालाई थप स्पष्ट गर्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : देश/दुनियाँ, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं