प्रधानमन्त्रीको सीमा सम्बन्धि अभिब्यक्ती हटाउन विपक्षी दलको निरन्तर माग
काठमाडौं । प्रतिनिभिसभा बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालमाथि निरन्तर प्रश्न उठाइरहेका छन् । प्रधानमन्त्री शाहले सीमा सम्बन्धि दिएको अभिब्यक्ती हटाउन उनीहरुले सभामुखले रुलिङ गर्नुपर्ने माग गरिरहेका छन् । तर, प्रधानमन्त्री संसदमा आएका छैनन् भने सभामुखले पनि रुलिङ गरेका छैनन् । जसका कारण विपक्षी दलले हरेक बैठकको सुरुमै ध्यानाकर्षण गराइरहेका छन् ।
सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउने विषयमा रुलिङ नगरेको भनेर विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि निरन्तर प्रश्न उठाइरहेका छन् । सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गर्नुपर्नेमा नगरेको भनेर विपक्षी दलका सांसदहरुले सभामुखलाई बुधबार पनि दबाब दिएका हुन् ।
जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको बताएका थिए । यहि अभिव्यक्तिमा विपक्षी दलहरूले प्रत्येक बैठकको सुरुमै प्रश्न उठाउँदै आएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरु आ–आफ्नो आसनबाट उठे । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई बोल्ने समय दिए । साम्पाङले सीमा विवादबारे प्रधानमन्त्रीले आफ्नो बोली सच्याउनुपर्ने दोहो¥याए । यो विषयमा सभामुख अर्यालले रुलिङ गर्नुपर्ने उनको माग छ । बैठकमा नेपाली काग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भुमिकालाई लिएर कडा आपत्ति जनाए ।
सांसद यादवले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाए । सदनको अभिभावकका रूपमा सबैलाई समान व्यवहार गर्नुपर्नेमा सभामुखको भुमिका संकुचित देखिएको उनको तर्क थियो । नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदमा प्रधानमन्त्रीले दिएको सीमा सम्बन्धि अभिव्यक्ति तत्काल सच्याउनका लागि रुलिङ गर्न सभामुख अर्यालसँग माग गरे । प्रधानमन्त्रीले सीमा सम्बन्धमा दिएको गलत अभिव्यक्ति अझै पनि नसच्चिएको र सभामुख अर्यालले पनि सच्याउनका लागि रुलिङ नगरेको उनको भनाई छ ।
प्रधानमन्त्रीले दिएको अभिव्यक्ति उहाँले आफैले संसदमा आएर नसच्याएसम्म आफूहरुको विरोध कायमै रहने अडान पनि स्पष्ट पारेका थिए । नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्री बालेन्द्र साहले सीमाबारे संसदमा राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै आम जनतासँग माफी माग्नुपर्ने बताए ।
सांसद रानाले प्रधानमन्त्रीको नेपालले पनि भारतको सीमा मिचेको छ भनि दिएको अभिव्यक्तिले आफूलाई लज्जाबोध भईरहेको पनि बताए । प्रधानमन्त्री साहले उक्त अभिव्यक्तिबारे संसदको रेकर्डबाट नहटाएसम्म आफूहरुको विरोध जारी रहने उनको भनाई छ । सांसद रानाले अमरसिंह थापा, बलभद्र कुँवर जस्ता वीर पुर्खाहरुले आर्जेको मुलुकमाथि धावा बोल्ने अधिकार कसैलाई पनि नभएको बताए । प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीमाथि निरन्तर प्रश्न उठाइरहेका छन् । तर, प्रधानमन्त्री शाह संसद बैठकमै आएका छैनन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार



तपाईको कमेन्ट लेख्नुहोस्