Techie IT
  • २५ जेठ २०८३, सोमबार
KhojPatrika

संसद अवरोध हटाउन प्रतिपक्ष दललाई मनाउने रवि लामिछानेको प्रयास


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको सर्वदलीय बैठकमा प्रतिपक्षी दलहरूले सरकार र संसदको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । संघीय संसदका दुवै सदनमा देखिएको गतिरोध अन्त्य र भारत भ्रमणबारे छलफल गर्न रास्वपाका सभापति रवि लामिछानेले सोमबार बैठक बोलाएका थिए । तर, बैठकमा प्रतिपक्षले प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न उठाउँदै सच्चिन आग्रह गरेका थिए ।

नयाँ निर्वाचन र नयाँ सरकार गठन भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक बोलाएको सर्वदलीय बैठकमा प्रतिपक्ष दलहरुले सरकारको कामकारवाहीप्रति आपत्ती जनाएका छन् । प्रतिपक्षी दलहरूले संसद्मा प्रतिपक्ष कमजोर छ भन्दैमा सरकारले स्वेच्छाचारी ढङ्गले संवैधानिक निकायहरू भत्काउनेदेखि नेपाल भारत सीमाका बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिब्यक्तीको कडा आपत्ति जनाएका हुन् ।

प्रतिपक्षी दल नेकपा एमालेले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबीच कुनै तादम्यता थियो वा थिएन ? भनेर प्रश्न गरेको थियो । बैठकमा रास्वपा सभापति लामिछानेले आफ्नो भ्रमणबारे जानकारी गराएका थिए । सो क्रममा राजनीतिक दलहरूबाट उठेका प्रश्नको जवाफ उनले दिएका थिए ।

नेकपा एमाले प्रमुख सचेतक ऐन महरले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदमा विरोध जारी रहने बताए । बैठकमा रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमण र संसदमा देखिएको गतिरोध अन्त्यको विषयमा छलफल भएको तर दुवै विषयमा रास्वपाको प्रस्ट धारणा नआएको महरले बताए ।

बैठकमा सीमा सम्बन्धमा प्रधानमन्त्रीको मन्तव्य तथा रास्वपा सभापति लामिछानेले भारत भ्रमणका क्रममा ‘विगतको भारी बोक्दैनौँ’ भनी दिएको अभिव्यक्तिमाथि समेत प्रतिपक्षी नेताहरूले प्रश्न उठाएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारुढ दल रास्वपालाई सुझाव दिएको बताए ।

अध्यक्ष लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा र सभापति लामिछानेले भारत भ्रमणको क्रममा आफूले विगतको भारी नबोक्ने भनि दिएको अभिव्यक्ति अपरिपक्व र नेपालले संसदबाट सर्वसम्मतीले पारित गरेको लिपुलेक, लिम्पियारधुरा र कालापानी नेपालको हो भनि गरेको प्रमाणलाई समेत कमजोर बनाउने खालको भएको जिकिर गर्दै त्यस्ता कुराहरुमा होसियारी अपनाउन पनि आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसद्मा जारी अवरोध अन्त्य गरी सदनको कामकारबाही अघि बढाउन पार्टी सभापति रवि लामिछानेले विपक्षी दललाई आग्रह गरेको बताए । केही विषयहरू लामो छलफलपछि मात्र समाधान हुने भएकाले तत्कालका लागि सदनमा देखिएको गतिरोध अन्त्य गर्नुपर्नेमा सभापति लामिछानेले जोड दिएको उनको भनाई छ ।

विवादित विषयबारे सरकारको तर्फबाट परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरिसकेको भन्दै आवश्यक परे संसदमा पनि स्पष्ट पार्न सकिने सभापति लामिछानेले बताएका थिए । लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह तत्काल संसद आउन नसक्ने जानकारी दिएका थिए ।

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका सभापति वा अध्यक्षसहित दुई–दुई जना नेताहरूलाई आमन्त्रण गरिएको थियो । तर, प्रमुख दलका शीर्ष नेताहरू भने बैठकमा सहभागी भएनन् । छलफलमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर सहभागी थिए । यस्तै, नेकपाका सह–संयोजकद्वय माधवकुमार नेपाल र वर्षमान पुन तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति थियो ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं