Techie IT
  • २१ जेठ २०८३, बिहीबार
KhojPatrika

बालेन सरकारका मन्त्रीहरुको सम्पत्ति छानविन नहुने,कार्यादेश नै दिइएन


काठमाडौं । पहिलो चरणमा सरकारले २०६२–६३ पछि सरकारी पद धारण गरेका ब्यक्तीहरुको सम्पत्ति छानविन गर्न आयोग बनाएको थियो । त्यतिबेला अहिले बहालवाला रहेका मन्त्रीहरुको पनि सम्पत्ति छानविन हुने बताएको सरकारले आयोगको कार्यादेशमै नराखेको पाइएको छ । आफ्नै मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति छानविन गर्न सरकार पछि हटेको छ ।

वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले अहिलेको मन्त्रिपरिषदको सम्पत्ति छानबिन नगर्ने भएको छ । वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन आयोगको कार्यादेश (टीओआर) मा छैन । सरकारले २०६२÷६३ यता सार्वजनिक उच्च ओहदामा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि गत वैशाख २ गते मन्त्रीपरिषद निर्णयबाट उच्चस्तरीय आयोग बनाएको थियो ।

५ सदस्यीय आयोगको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी रहेका छन् । अयोग गठन हुँदा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले २०६२-६३ यता सार्वजनिक ओहदामा पुगेका सबै पदाधिकारी र अहिलेको मन्त्रिपरिषदका सदस्यको पनि सम्पत्ति छानबिन हुने बताएका थिए । तर, सरकारले आयोगलाई दिएको टीओआर भने त्यस बमोजिम नभएको पाइएको छ ।

आयोगले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति छानबिन नहुने बताएको छ । सरकारले टीओआरमा २०८२ सम्म बनेका मन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने भनिएको थियो । यो सरकार २०८२ सालको अन्तिमतिर मात्रै बनेकाले टीओआरमा नराखिएको बुझिएको छ । सर्वोच्च अदालत, सेना र संवैधानिक निकायका पदाधिकारीहरूलाई पनि सम्पत्ति छानबिनमा तानिने छैन । यी निकायहरू टीओआरभित्र परेको छैनन् ।

यस्तै, राजा, राष्ट्रपति, उपराष्ट्रपतिहरूको पनि सम्पत्ति पनि छानबिन नहुने भएको छ । प्रहरी र सशस्त्र प्रहरीका पदाधिकारी एवं पूर्वपदाधिकारीहरुको सम्पत्ति छानबिन भने आयोगको टीओआरभित्र छ । सरकारले आयोगलाई १ वर्षको समय दिएको थियो । आयोगले अहिले उजुरीहरू लिने र फारामहरु संकलन गर्ने काम गरिरहेको छ । टीओआरभित्र रहेका सबै पदाधिकारहीहरूलाई सम्पत्तिको विवरण भर्न फाराम वितरण गरिएको छ ।

सबैलाई जेठ महिनाभित्र विवरण भर्न भनिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफूले विवरण नदिने बताएका छन् । आफ्नो घर जलाएर सम्पत्ति विवरण मागिएको टिप्पणी उनले गरेका थिए । पहिलो चरणमा सरकारले २०६२÷०६३ पछि सरकारी पद धारण गरेका सबै पदाधिकारीको सम्पत्ति छानविन गर्न आयोग बनाएको थियो । तर, सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरणमा नै आशंका गर्ने ठाउँ देखिएका कारण छानविन हुने बताइएको थियो । तर, अहिले सरकार भने आफ्नै मन्त्रीहरुको सम्पत्ति छानविन गर्नबाट पछि हटेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं