चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
काठमाडौं । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउन सुकुम्बासी बस्तीमा डोजर चलाउन सुरु गरिएको छ । बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालित छन् ।
बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन् । विगतमा यसै क्षेत्रमा डोजर चलाउन खोज्दा स्थानीय र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो ।
यसपटक प्रशासनले सहयोगात्मक रूपमा बस्ती खाली गराउने रणनीति अपनाएको देखिन्छ । घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, ग्यास सिलिन्डर, ओछ्यान लगायतका अत्यावश्यक सामानहरू नपुरिऊन् र नोक्सान नहोऊन् भनेर प्रहरीहरू आफैँ खटेर सामान ओसारपसार गरिरहेका थिए ।
सम्बन्धित निकायहरूले यसअघि नै पटक–पटक सार्वजनिक सूचना जारी गर्दै उक्त क्षेत्र खाली गर्न निर्देशन दिँदै आएका थिए । नदी कोरिडोर निर्माण र बागमती सभ्यता संरक्षणको दीर्घकालीन योजना अनुसार उक्त क्षेत्रका संरचनाहरू भत्काउन लागिएको हो ।
सरकारले स्थानान्तरण गरिने सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने भएको छ । शनिबार बिहानदेखि सरकारले थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुमवासी क्षेत्र खाली गराउन गराउन लागेको छ । शनिबार र आइतबार ती क्षेत्रबाट स्थानान्तरण गरेर सुकुमवासीहरुलाई नागार्जुन (इचङ्गु) को ४२ वटा आवास युनिटमा राखिने भएको छ ।
कीर्तिपुरको सत्सङ्गको ठूलो भवनमा राख्नको लागि अर्को स्थान तय गरिएको छ ।भक्तपुरस्थित बोडेमा कृषि विकास बैंकको तालिम केन्द्रमा राखिने भएको छ । खरीपाटी र चाँदबागमा सरकारी भवन र खाली जग्गा पनि अस्थायी बसोबासको व्यवस्था गरिएको छ । यी संरचनाहरू यसअघि निर्माण गरिएका हुन्, जसलाई अहिले वास्तविक सुकुमवासी व्यवस्थापनका लागि पूर्ण प्रयोगमा ल्याउन लागिएको हो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- २जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ३रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?
- ४वैशाख ११ अर्थात् लोकतन्त्र दिवस
- ५दलित युवाको मृत्युः सिन्धुली प्रशासनअघि धर्नामा रास्वपा सांसद



तपाईको कमेन्ट लेख्नुहोस्