Techie IT
  • १८ चैत्र २०८२, बुधबार
KhojPatrika

सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने


काठमाडौं । नेपाली काँग्रेसभित्रको विवादले नयाँ मोड लिएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्यहरूको बैठक बसी विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई चुनौती दिइएको छ ।

बैठकमा पार्टीका शिर्ष नेताहरूसहित करिव ८३ जना केन्द्रिय सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकमा बोल्ने १५ जना केन्द्रिय सदस्यहरूले विशेष महाधिवेशनका नाममा गगन थापाले आफूलाई सभापति घोषणा गरेको कार्यलाई ‘नाटक मञ्चन’ को संज्ञा दिएको काँग्रेस नेता मानबहादुर नेपालीले बताए ।

नेता नेपालीले सर्वोच्च अदालतको फैसला नआउन्जेलसम्मका लागि पार्टीको आन्तरिक विवादलाई स्थगन गरिए पनि अर्को पक्ष (गगन थापा पक्ष) संवेदनशील नभएको आरोप लगाए ।

उनले भने ‘जतिबेला घोषणापत्र लेख्ने र उम्मेदवार चयन गर्ने समय थियो, त्यतिबेला विशेष महाधिवेशनका नाममा नाटक गरेर उहाँले आफूलाई सभापति घोषणा गर्नुभयो । हामीले निर्वाचनसम्मका लागि शालीनता देखाएर चुप बसेका थियौँ, तर अब उहाँलाई सभापतिका रूपमा स्वीकार्न सकिँदैन ।’

खड्का–कोईराला पक्षले शेरबहादुर देउवाको नेतृत्वमा रहेको १२३ सदस्यीय केन्द्रिय समितिलाई नै आधिकारिक मानेको छ । अदालतको निर्णय नआउन्जेल गगन थापालाई सभापति नमान्ने र १४ औँ महाधिवेशनबाट निर्वाचित समितिलाई नै सक्रिय बनाउने उनीहरूको रणनीति छ । बैठकमा समानुपातिक उम्मेदवार चयनका क्रममा सभापति गगन थापाले विधान र प्रचलित कानूनको उल्लङ्घन गरेको विषयले प्राथमिकता पाएको छ ।

बैठकमा खड्काले शेरबहादुर देउवाले हस्ताक्षर गरी बुझाएको सूचीलाई तोडमोड गरिएको जानकारी गराउनुभएको थियो । विशेष गरी पिछडिएको क्षेत्रबाट सिफारिस भएकी केन्द्रिय सदस्य विद्या तिमल्सिनालाई हटाएर खस–आर्य कोटाका पुरुषलाई प्राथमिकता दिएको र दलित कोटामा एक नम्बरमा रहेका मानबहादुर नेपालीलाई पाखा लगाएकोमा बैठकले आपत्ति जनाएको छ । यो कदम सर्वोच्च अदालतले बालकृष्ण न्यौपानेको मुद्दामा कायम गरेको नजिर दलित, जनजाति र महिलालाई प्राथमिकता दिने विरुद्ध रहेको ठहर गरिएको छ ।

पार्टीभित्र निर्वाचित जनप्रतिनिधि र केन्द्रिय सदस्यहरूलाई कारबाहीको धम्की दिने, मनोवैज्ञानिक त्रास सिर्जना गर्ने र ‘मिडिया ट्रायल’ गर्ने काम भइरहेको भन्दै बैठकले त्यसको भत्र्सना गरेको छ । अदालतको अन्तिम फैसला नआउन्जेल थापाको नेतृत्वलाई नमान्ने र आन्तरिक सङ्घर्षलाई व्यवस्थित गर्दै १५ औँ महाधिवेशनको तयारीमा लाग्ने निष्कर्षमा यो समूह पुगेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं