बीमा रकम कटौतीको हल्ला भ्रामक, १ लाखको सीमा यथावत्
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमा सुविधाको उपचार खर्च कटौती गरिएको भन्ने भ्रामक खबरप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बोर्डले सूचना जारी गर्दै ५ जनासम्मको बीमित परिवारले वार्षिक रुपमा पाउने १ लाख रुपैयाँ बराबरको कुल सेवा सीमा यथावत् रहेको स्पष्ट पारेको हो ।
बोर्डले बीमा कोषको दिगोपन र सेवाको न्यायोचित व्यवस्थापनका लागि केही प्राविधिक परिमार्जन मात्र गरिएको बताएको छ । ‘नयाँ व्यवस्थाअनुसार बहिरंग (ओपीडी) सेवाको प्रयोगलाई मितव्ययी र व्यवस्थित बनाउन ५ जनासम्मको परिवारका लागि वार्षिक २५ हजार रुपैयाँ तोकेको हो ।
प्रत्येक थप सदस्यका लागि ५ हजार रुपैयाँको सीमा तोकिएको छ । परिवारले पाउने बाँकी रकम भने ओपीडी र आकस्मिक स्वास्थ्य सेवामार्फत पहिलोको जस्तै उपयोग गर्न सकिने छ । यो निर्णय विशेषगरी अनावश्यक र दोहोरो सेवा प्रयोग रोक्न तथा गम्भीर एवं जटिल प्रकृतिका रोगको उपचारका लागि स्रोत सुरक्षित राख्ने उद्देश्यले गरिएको हो,’ बोर्डको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य बीमा कोषमा पर्न सक्ने वित्तीय संकट टार्न र जीवनरक्षात्मक उपचार सेवालाई प्राथमिकता दिन यो कदम चालिएको बोर्डले उल्लेख गरेको छ । यससँगै बीमितले आकस्मिक र अस्पताल भर्ना भई लिने सेवामा कुनै असर पर्ने छैन ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्