Techie IT
  • १९ माघ २०८२, आईतबार
KhojPatrika

सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सत्ताको भागबन्डामा रम्ने पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका छन् । नयाँ पुस्ता (जेनजी) र राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले आफूलाई एक नेता मात्र नभई योद्धा र साधारण नागरिकका रूपमा उभ्याएका छन् ।

इतिहासका धेरै मोडहरूमा जनतासँगै हिँडेको स्मरण गर्दै प्रचण्डले अहिलेको लडाइँ सत्ताका लागि नभई देशको भविष्य र नयाँ पुस्ताको सपनाका लागि भएको जिकिर गरे । सम्बोधनका क्रममा उनले आफ्नो जीवनलाई एउटा खुला किताबको संज्ञा दिँदै आफ्नै आँखा अगाडि जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनुपरेको पीडा पोखे ।

जीवनको अन्तिम समयमा साथ छाडेर गएकी जीवनसंगिनी र हजारौँ सहयोद्धाको बलिदानलाई स्मरण गर्दै उनले एक मानिसले जीवनमा गुमाउन सक्ने सबै कुरा आफूले गुमाइसकेको बताए । यति धेरै पीडाका बाबजुद सहिदहरूको सपना र समृद्ध नेपालको यात्राले आफूलाई अघि बढ्न प्रेरित गरिरहेको उनको भनाइ थियो । नयाँ पुस्ताले उठाइरहेको भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारको माग जनयुद्धकै एजेन्डा भएको दाबी प्रचण्डले गरे ।

संसदीय खेल र कुर्सीको तानातानले देशलाई पछाडि धकेलेको निष्कर्ष सुनाउँदै उनले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था अपरिहार्य रहेको दोहोर्याए । उनले आफू नयाँ पुस्ताकै सोच बोकेर हिँडेको यात्री भएको भन्दै आफ्ना र युवाहरूको माग एउटै भएको तर्क गरे ।

हलिउडको चर्चित संवाद ‘या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहू’ लाई उद्धृत गर्दै प्रचण्डले आफू खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको बताए । यदि धेरै अघि बिदा भएको भए नायकका रूपमा सम्झिने अवस्था रहे पनि अब देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम नलिने अठोट उनले व्यक्त गरे ।

आफ्नो अभावमा मात्रै जनताले आफूले कोरेका परिवर्तनहरूको महसुस गर्ने दाबी गर्दै उनले हार मान्न तयार नरहेको स्पष्ट पारे । सामाजिक सञ्जालका भ्रमबाट नबहकिन र स्वतन्त्र चिन्तन गर्न युवाहरूलाई आग्रह गर्दै उनले अब अर्को २० वर्ष ‘ट्रायल एन्ड एरर’ गरेर नयाँ नेता जाँच्ने समय नरहेको बताए । युवाहरूले भविष्य खोज्न विदेशिनु नपर्ने नेपाल बनाउने संकल्प गर्दै प्रचण्डले आफूलाई प्रश्न सोध्न र दबाब दिन नयाँ पुस्तालाई आह्वानसमेत गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं