Techie IT
  • १८ पुस २०८२, शुक्रबार
KhojPatrika

जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैनः केपी शर्मा ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको र मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन् ।

नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल्ली सम्बोधन गर्दै ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद वर्ष भएको बताए ।नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढङ्गले सुरू गरिएको उनले बताए ।

नेपाली जनताको सचेतनताका कारण प्रतिगमनकारीहरूले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्‍याउन नसकेको उनले बताए । वर्तमान सरकार असंवैधानिक भएको र संसद अनधिकृत व्यक्तिको सिफारिसमा विघटन गरिएको भन्दै यो प्रधानमन्त्री परिवर्तनको कुरा मात्रै नभई लोकतान्त्रिक प्रणाली र प्रक्रियामाथिको प्रहार भएको उनले बताए ।

प्रतिनिधि सभा सदस्य निर्वाचन मिति तोकिए पनि अहिलेसम्म निर्वाचनको वातावरण नबनेको उनले बताए । ‘नेताहरूविरूद्ध झुठा मुद्दा लगाउने, अशान्त वातावरण सिर्जना गर्ने, लुटिएका हतियार फिर्ता नहुने, जेलब्रेक गर्नेलाई अगुवा बनाएर राजनीतिलाई लान खोजियो,’उनले भने, ‘निर्वाचनमा बुथ कब्जा गर्न खोजियो र निर्भयपूर्वक मतदान भएन भने निर्वाचन लोकतन्त्र कमजोर बनाउने ‘ड्रामा’ मात्र हुने छ ।

गत भदौ २३ र २४ गते जेन-जीका नाममा भएका घटना स्मरण गर्दै अध्यक्ष ओलीले सन् २०२५ मा नेपालमा मानवजातिकै विरूद्ध नृशंस र दानवीय व्यवहारका रुपमा चित्रित गरे । नेपालीपन, नेपाली मनसँग कहीँ पनि नमिल्ने यो घटना यो नेपालका लागि सबभन्दा धेरै असहज रहेको उनले बताएका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्