थरीथरीका जेनजी समूह,थरीथरीका मागले प्रधानमन्त्री कार्की हैरान
काठमाडौं । पूराना दलका नेताहरुलाई सत्तोसराप गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणको नारा ल्याएर भदौ २३ र २४ गते विद्रोह गरेका जेनजी समूहले यतिबेला सडकमा रमिता देखाइरहेका छन् । थरीथरीका जेनजी समूह अनि थरीथरीका मागपत्रले जग हसाई भइरहेको छ । कहिले सिंहदरबारको गेटमा त कहिले प्रधानमन्त्रीको कार्यालय प्रांगनमा अनि कहिले बालुवाटारस्थित प्रधानमन्त्रीको निजी निवासमै चर्काचर्की र भाडभैलो भइरहेको छ ।
राजनीतिक दलमाथि आरोपै–आरोप लगाउने र चर्चामा आउन अनेक फण्डा गर्ने जेनजीका समूहहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई समेत अफ्ठेरोमा पारेका छन् । कोही गृहमन्त्रीको राजीनामा माग्दैछन् त कोही प्रधानमन्त्री कार्कीलाई नै बर्खास्त गर्नुप¥यो भन्दै राष्ट्रपतिको कार्यालय शितल निवासमा पुगेर हारगुहार गरिरहेका छन् । कार्यालयमा पुगेर कर्मचारी थर्काउनेदेखि जेनजीका नाममा अहिले दिनहुँ कुनै न कुनै उछृङखल गतिविधि चलिरहेका छन् । पछिल्ला केही दिनयता देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र र बाहिर थुप्रै रमिता चलिरहेको छ ।
जेनजी आन्दोलनकै क्रममा खरानी भएको सिंहदरबार धाउने र चर्को चर्को बोलेर नेता बन्ने होडबाजीले सबैलाई त्रास दिइरहेको छ । हिजो सरकार बनाउने र मन्त्री छान्न आफै सक्रिय भएका जेनजीको आफूलाई नेता भन्नेहरुले नै कार्की नेतृत्वको सरकारमाथि प्रश्न उठाइरहेका छन् । ज्ञापन पत्र बुझाउने र प्रधानमन्त्री गृहमन्त्रीलाई दवाव दिने भन्दै सिंहदरबारभित्र छिर्नेको निक्कै घुइँचो चल्छ । तर, उनीहरुका गतिविधि देखेर स्वयम् प्रधानमन्त्री सुशीला कार्की नै आजित बनेकी छन् । जेनजी विद्रोहपछि स्वार्थगत तछाड मछाडका कारण मागहरुबारे कुनै छलफल नै भएन ।
कुनै लिखित सम्झौता पनि भएन । प्रतिनिधिसभा विघटन र केपी शर्मा ओलीको ठाउँमा सुशीला कार्कीलाई पठाउने बाहेक अर्को कुनै एजेण्डा जेनजीले प्रस्तुत गर्न सकेनन् । बरु, सरकार बनाउन हप्कीदप्की दिएका जेनजीका नेताहरुले अहिले भने विभिन्न माग राख्दै बुँदा थप्दै दौडधुप गरिरहेका छन् । सोमबार पनि तीनथरी दृश्य देखिए । एकथरी सिंहदरबारको गेटमै रोकिए, अर्कोथरीले प्रधानमन्त्री कार्यालयको प्रतीक्षा हलमा हुलहुज्जत गरे र तेस्रो समूह मागपत्र खल्तीमा राखेर सुटुक्क फर्कियो ।
प्रधानमन्त्री कार्कीले भेट नदिएपछि उनीहरुले खैलाबैला नै मच्चाएका थिए । मंगलबार फेरि उस्तै दृश्य देखेपछि सिंहदरबारको गेटबाटै उनीहरुलाई प्रवेश गर्न दिइएन । मिराज ढुंगानाको समूहलाई प्रहरीले सिंहदरबारको गेटबाट धकेल्दै धकेल्दै लखेटेको थियो । उनीहरु आफैले बनाएको सरकारले आफैलाई लखेटेको भन्दै आक्रोश पोखिरहेका थिए । जेनजी समूह पनि कोही राजावादी त कोही संविधान खारेजीको माग राख्नेछन् । कोही जेनजीका माग पूरा नभएसम्म चुनाव नै हुन नदिनेसम्मका चेतावनी बोलिरहेका छन् । नेताहरुका घरमा पसेर थर्काउन समेत उनीहरु पछि परेका छैनन् ।
देशभर जेन–जी समूहका नाममा अवाञ्छित समूह र व्यक्तिहरूले अराजकता मच्चाउन थालेपछि सरकार कठोर बन्न थालेको देखिन्छ । किनकी एमालेका नेताहरु कार्यक्रमका लागि बारा जिल्लामा जान खोज्दा दुई दिनसम्म जेनजीकै नाममा आन्दोलन भयो । तोडफोड हुँदा सरकारले थप सर्तकता अपनाएको देखिन्छ । जेनजी एउटा उमेर समूह हो । तर, जेनजीको नेताका नाममा उमेर समूहलाई नै बद्नाम गराउने गरी गतिविधि भइरहेका छन् । भीडभाड देखाएर, हल्ला खल्ला गरेर र चर्को स्वरमा कराएर नेता बन्ने महत्वाकांक्षी उनीहरुले पालिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १कांग्रेसको बैठकले संसारका कीर्तिमान भंग गरिसक्योः गुरु घिमिरे
- २एमाले महाधिवेशनको नाराः निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य
- ३थरीथरीका जेनजी समूह,थरीथरीका मागले प्रधानमन्त्री कार्की हैरान
- ४देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
- ५विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला



तपाईको कमेन्ट लेख्नुहोस्