प्रतिनिधि सभामा भूमिबाहेकका ५ अध्यादेश निर्णयार्थ पेस हुँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो ।
सरकारले नै अध्यादेश अगाडि नबढाउने भनेपछि सभामुख देवराज घिमिरेले त्यसदिन अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यसूची स्थगित गरेका थिए । झण्डै एक महिनापछि अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यक्रम कार्यसूचीमा परेको हो । गत माघ २४ गते ६ वटै अध्यादेश अगाडि बढाउने कार्यसूची थियो ।
आज दिउँसो १ बजे बस्ने बैठकमा भने पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची छ । सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने अडान लिएपछि सरकारले बाँकी अध्यादेश अगाडि बढाउन लागेको हो ।
भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश तत्काल संसदमा होल्ड हुने भएको छ । बाँकी अध्यादेश भने अगाडि बढाउने कार्यक्रम तय भएको छ । सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पुस २९ मा जारी भएका थिए ।
यस्तै, गत पुस १४ मा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । यी ६ वटै अध्यादेश गत माघ १८ गते दुवै सदनमा पेस भइसकेका छन् । यसमध्ये आज बस्ने प्रतिनिधि सभाको बैठकबाट पाँच वटा अध्यादेश स्वीकृत गराउने र प्रतिस्थापन विधेयक ल्याउने सरकारको तयारी छ ।
प्रतिस्थापन विधेयक ल्याउन अध्यादेश दुवै सदनबाट स्वीकृत गराउनुपर्छ । राष्ट्रिय सभाको बैठक भोलि बिहीबारलाई राखिएको छ । बिहीबार राष्ट्रिय सभाले पनि अध्यादेश स्वीकृत गरेको खण्डमा सरकारलाई विधेयक ल्याउने बाटो खुल्नेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अध्यादेश, #प्रतिनिधि सभा
ताजा खबर
- १दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
- २विप्लवसँग नारायणकाजीले गरे एक घण्टा छलफल
- ३प्रधानमन्त्री ओली र वाइपाका कार्यकारी निर्देशक इर्साहीबीच भेटवार्ता
- ४गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्नः जीबी राई खोई ?
- ५प्रतिनिधिसभाको बैठक एक बजे, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्