ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौ. । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । ठमेलमा प्रहरी कुटेको आरोपमा बिहीबार साँझ बानेश्वरबाट पक्राउ परेका जोशीविरुद्ध म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिएको थियो ।
काठमाडौं प्रशासनले अभद्र व्यवहारको कसुरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जोशीको समूहले २४ माघको राति ठमेलमा ड्युटी खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टलाई कुटपिट गरेको थियो ।
दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो । मध्यराति हो–हल्ला गर्दै हिँडेपछि प्रहरीले उनीहरुलाई सम्झाउन खोजेको थियो । तर, मोटरसाइकलमा सवार दुई प्रहरीको मोटरसाइकल लडाउँदै लौरो समेत फालिएको थियो ।
आक्रमणबाट प्रहरीको बर्दी च्यातिनुका साथै हेल्मेट समेत फुकालेर प्रहरीलाई हिर्काइएको थियो । प्रहरीलाई कुटपिट गरेपछि यसअघि गत आइतबार मात्रै ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।
अमृत साइन्स क्याम्पसमा अध्ययनरत दुवै जना नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध छन् । प्रहरी कुटपिटमा संलग्न रहेर पक्राउ पुर्जी जारी भएका नवीन ऐरी, सौजन्य शाही र गोपालबहादुर शाही भने अहिलेसम्म फरार छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्