Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

सकियो माओवादीको चार महिने अभियान, टोल टोलमा पुग्दा कस्तो पाए प्रतिक्रिया


काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियानलाई भिन्न रूपमा निरन्तरता दाबी गरेको छ । चार महिने औपचारिक अभियान सकिएको घोषणा गरेको माओवादीले फेरि अभियान चलाउने दाबी गरेको हो । टोल–टोलमा पुगेको माओवादीले अभियानका क्रममा सडक मर्मत गर्नेदेखि सभा सम्मेलनसम्म गरेर अभियान सफल भएको जिकिर गरेको छ । नेकपा माओवादी केन्द्रले समग्रमा विशेष रूपान्तरण अभियान उत्साहजनक भएको बताएको छ ।

पार्टीले सञ्चालन चार महिने विशेष रूपान्तरण अभियान समापनको विषयमा प्रचार विभागले मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी अभियान सफल भएको निष्कर्ष निकालेको हो । ‘विशेष रूपान्तरणले साङ्गठनिक गतिशील भएको दाबी गरेको छ । संगठन नबनेको ठाउँमा संगठन बनेको, निष्क्रिय भएको ठाउँमा सक्रिय भएको, पार्टीबाट पलायन हुने क्रम रोकिएको उसको दाबी छ । अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको भन्दै पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको माओवादीले जिकिर गरेको छ ।

यस्तै माओवादी अभियानबाट पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको दाबी गरिएको छ । अभियानले नेताहरूको मूल्याङ्कन गर्ने आधार बनेको उसको भनाइ छ । माओवादीले भदौ १६ गतेदेखि देशभरका ६ हजार ७ सय ३४ वडामा चार महिने अभियान सञ्चालन गरेको थियो । अभियानका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेता कार्यकर्ता गाउ गाउँमा खटिएका थिए । अभियान अन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराउने काम भएको दाबी गरिएको छ ।

अभियानको पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिएको थियो ।

दोस्रो चरणमा पाँचघण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घ संस्थासँग अन्तरक्रिया तथा तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिएको माओवादीले जनाएको छ ।

अभियानका क्रममा एउटा पालिकामा कम्तीमा एक जना माओवादी केन्द्रीय नेता खटिएका थिए । शहर केन्द्रीत भएका माओवादी नेताहरु अभियानका क्रममा गाउँ पुगेर सडक सफा गर्नेदेखि झार सफा गर्नेसम्मका काम गरेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं