Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
KhojPatrika

चुनाव सकिएको एक बर्षमै दलहरु फेरि निर्वाचनको तयारीमा,८४ भन्दै सबै दलको दौडधुप


काठमाडौं । पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिसभाले बल्ल एक वर्ष कार्यकाल पूरा गरेको छ । २०७९ मंसिरमा निर्वाचित प्रतिनिधिसभाको कार्यालय सकिन अझै ४ वर्ष बाँकी छ । तर, दलहरू भने ४ वर्ष अघि नै मिसन ८४ भन्दै गाउँ–गाउँ र शहर–शहरमा अभियानका नाममा विभिन्न गतिविधि गरिरहेका छन् । जनता धेरै समस्याले जेलिएका छन् । तर, जनताले जिताएको एक बर्षमै सबै जसो दलहरु चुनाव केन्द्रित अभियानमा व्यस्त छन् ।

अभियानले २०७९ को निर्वाचनका बेला उनीहरूले जनतामा गरेका बाचा, प्रतिबद्धता र आश्वासन अर्थविहीन जस्तै भएका छन् । निर्वाचित भएको १ वर्ष बितिसक्दा पनि कुनै दलका नेताले सीन्को भाँचेका छैनन् । मुलुकलाई कसरी समृद्ध बनाउने ? अर्थतन्त्र टाँट पल्टिएको अवस्थामा सुधार कसरी ल्याउने भन्ने चिन्ता छैन । बढ्दो बेरोजगारी र युवा विदेश पलायन कसरी रोक्ने ? भन्नेमा उनीहरूको फिटिक्कै ध्यान छैन । उनिहरुलाई मात्र ध्यान छ त आगामी निर्वाचन कसरी जित्ने ? दलहरु फेरी पनि जनतालाई झुटा आश्वासनका गफ कति बाँड्ने भन्नेमा मात्रै केन्द्रित देखिन्छन् ।

जनताका समस्या ज्युँ का त्युँ छन् । तर दलहरु अझै पनि लाज पचाएर मिसन ८४ भन्दै अहिले देखि नै दौडिरहेका छन् । ०७९ को निर्वाचनले कुनै एक दललाई बहुमत दिएन । ७९ मा सात दलिय गठबन्दन बन्यो त्यति गर्दा पनि जनताले पत्याएनन् । सत्तामा टिकिरहनको लागि संसद्को तेस्रो दल माओवादी कहिले कांग्रेस त कहिले एमालेको बुई चढेर सत्तामा हालीमुहाली गरिरहेको छ । सरकारबाट जनताले सुशासन, विकास र समृद्धिको कुनै अनुभूति गर्न पाएका छैनन् । विपक्षी दल नेकपा एमाले पनि ४ वर्ष अगावै एमाले मिसन–०८४ भन्दै मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गरिरहेको छ ।

एमालेले मंसिर १४ बाट झुलाघाट–चिवाभञ्ज्याङ पदयात्रा सुरु ग¥यो । उसले समृद्ध नेपालः सुखी नेपालीको नारा दिइरहेको छ । जनतासँग प्रत्यक्ष जोडिने र संगठन चलायमान बनाउने उसको रणनीति छ । ०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने एमाले अध्यक्ष केपी शर्मा ओलीले भाषण पीटिरहेका छन् ।

त्यस्तै कांग्रेसका युवा नेताहरू पनि मिसन ०८४ भन्दै भाषण गरिरहेका छन् । ०८४ को निर्वाचनमा कांग्रेस एक्लै भिड्नुपर्ने युवा नेताहरूको भनाइ छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने मिसन ०८४ भन्न छोडेर अहिलेको अवस्थाबाट देशलाई कसरी उभो लगाउने भनेर दलहरू सक्रिय बन्नुपर्ने धारणा राख्दै आएका छन् ।

यस्तै माओवादीले ‘जनतासँग माओवादी, रूपान्तरण अभियान’ सुरु गरेको छ। त्यस्तै, माओवादी, एकीकृत समाजवादी र जसपाले ‘समाजवादी मोर्चा’ बनाएर ठाउँ–ठाउँमा चुनाव लक्षित सभा सम्मेलन गरेका छन् । जनमत पाएका दलहरु जनताका लागि काम गर्न छोडेर मिसन ८४ को नारा लगाउँदै हिँडेका छन् । त्यस्तै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि मिसन ८४ भन्दै देशभर संगठन विस्तारमा जुटेको छ । नयाँ दलले अब जनताका लागि केहि गर्छकी भनेर आम जनताले आशा गरेका थिए । तर, नयाँ दलपनि मिसन ८४ भन्दै जनता सामु ढोङ पीट्दै हिँडेको छ ।

यतिबेला सबैको ध्यान चुनाव तिरै छ । सबैजसो दलहरु मिसन ८४ मै व्यस्त छन् । उता जाजरकोटमा भुकम्प पीडित चिसोले मरिरहेका छन् । यता नेताहरुलाई भने मिसन ८४ ले भ्याई नभ्याई छ । नयाँ पुराना सबै दललाई सत्ताकै मोह छ । सबै दल कुर्सीकै लागि लुछाचुडी गरिरहेका छन् । जनताका समस्या भने सधैं ओझेलमै पर्दै आएका छन् ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एक वर्ष कार्यकाल, #पाँच वर्ष, #मिसन ८४, #शहर–शहरमा अभियान

तपाईको कमेन्ट लेख्नुहोस्