प्रधानमन्त्रीको बझाङमा घोषणाः अस्थायी आवासको लागि ५० हजार, मृतक परिवारलाई तत्काल २ लाख

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बझाङ भूकम्पबाट पूर्ण क्षति भएका प्रति घर परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माणका लागि ५० हजार दिने घोषणा गरेका छन् ।
बझाङको दरमुकाम चैनपुरमा भूकम्पबाट भएको क्षति अवलोकनपश्चात प्रधानमन्त्रीले सो घोषणा गरे । टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी, मुख्यमन्त्री कमलबहादुर शाह, गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत सहभागी थिए ।
भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने जानकारी दिए । राहत सामग्रीहरू पाल, कम्बल, औषधि, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन भएको र थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने प्रधानमन्त्री प्रचण्डले बताए ।
भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको बताए । भुकम्पले निम्त्याएको पहिरोमा परी मृत्यु हुनेका परिवारलाई तत्काल २ लाख राहत दिने उनको भनाइ थियो ।
बझाङको तालकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पले सुदूरपश्चिमका ७ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा धेरै क्षति बझाङमा भएको छन् । बझाङमा मात्रै भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #घर परिवार, #प्रधानमन्त्री पुष्पकमल, #बझाङ भूकम्प
तपाईको कमेन्ट लेख्नुहोस्