गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै एमालेले फेरि गर्यो संसद बैठक अवरुद्ध

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेपमार्फत सुन तस्करीमा तथ्य प्रमाणले दोषी देखिएका कसैलाई नछाड्ने चेतावनी दिएका छन् । एक क्विन्टल सुन प्रकरणबारे संसदमा जवाफ दिर्दै गृहमन्त्री श्रेष्ठले माओवादी वा जुन सुकै दलको भए पनि दोषीलाई नछाड्ने बताएका हुन् । उनले सुन प्रकरणमा राज्यका निकायले अनुसन्धान गरिरहेको बन्दै छानविन समिति बनाउन नसकिने उल्लेख गरे ।
साढे ३३ किलो सुन प्रकरणमा छानविन समिति बनाएर केही प्रमाण नभेटिएको भन्दै सरकारी संयन्त्रलाई विश्वास गर्न गृहमन्त्री श्रेष्ठको आग्रह थियो । गृहमन्त्री श्रेष्ठले ललिता निवास प्रकरणमा थप अनुसन्धानको लागि अदालतको आदेशले आधार दिएको बताए । उनले अनुसन्धान प्रक्रियामा जे देखिन्छ त्यही अभियोजनको प्रक्रियामा लैजान सिआईबीलाई निर्देशन दिएको बताए । गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा तथ्य प्रमाणले भेटेसम्म सबैलाई समात्न निर्देशन दिएको जिकिर गरे ।
तेह्र दिनपछि चलेको संसद बैठकमा छानविन समिति गठनको प्रतिबद्धता नआएको भन्दै नेकपा एमालेले फेरि पनि संसद बैठक अवरुद्ध गरेको छ । सरकारले सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्री नै संलग्नता रहेको भन्दै समिति गठन गर्न माग यथावत रहेको एमालेको जिकिर छ ।
गृहमन्त्री श्रेष्ठले जवाफ दिएपछि संसद चल्नुपर्ने भन्दै कांग्रेस सांसद रामहरि खतिवडाले प्रश्न उठाएपछि संसदमा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की नै भएको थियो । उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै बैठकमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक बुधबार १ बजेसम्मका लागि बैठक स्थगित भएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
तपाईको कमेन्ट लेख्नुहोस्