Techie IT
  • २१ असार २०८२, शनिबार
KhojPatrika

एक सय किलो सुन तस्करी प्रकरणले खैलाबैला, कर्मचारी निलम्बनदेखि छानविनसम्म !


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन बाहिरिएपछि यतिबेला हंगामा मच्चिएको छ । सुरक्षा र भन्सार जाँच पास गरेर १०० किलो सुन कसरी बाहिरियो भन्ने थुप्रै प्रश्न उब्जाइदिएको छ । विमानस्थलको आन्तरिक प्रणालीमाथि नै प्रश्न खडा गर्ने गरी बाहिरिएको सुन प्रकरणले सुरक्षा ब्यवस्थादेखि चेकजाँचमै अनेकौ प्रश्न उब्जाइदिएको छ ।

बुधबार विहान बिमानस्थलबाहिर ट्याक्सीमा राख्ने क्रममा सुन बरामत भएको घटना बुधबार बेलुका मात्रै सार्वजनिक भएको थियो । झण्डै १८ घण्टा त सुन पक्राउ गरेर पनि सूचना लुकाइएको छ । हाल विमानस्थलमा प्रविधिको पनि विकास भएर बाक थ्रु, एक्स रे, सीसी क्यामरा, मेटल डिटेक्टर लगायत राखिएको ठाउँबाट सुन कसरी बाहिरियो भन्ने प्रश्नको जवाफ दिन विमानस्थलका कुनै कर्मचारी तयार छैनन् ।

हङकङबाट काठमाडौं आएको क्याथे एयरलाइन्सको विमानमा कार्गोमार्फत सुन आएको थियो । राजश्व अनुसन्धान विभागले बुधबार विमानस्थलबाहिर झण्डै एक क्वीन्टल सुन बरामद गरेको थियो । मोटरसाइकलको ‘ब्रेक शु’मा लेप लगाएर ल्याएको सुन विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
बनाइयो छानविन समिति
त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बिहीबार छानबिन समिति गठन गरेका हुन् । समितिको संयोजक अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल तोकिएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन गरिएको भन्सार विभागले जनाएको छ । भन्सारका कर्मचारीको संलग्नताबारे छानबिन गर्ने कार्यादेश समितिलाई दिइएको छ ।
अहिलेसम्म ६ जना पक्राउ
करिब एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् । सो प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चार जनाको नाम र ठेगाना खुलेको छ । दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका हुन् । विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा.२ ज २३२४ नम्बरको ट्याक्सीलाई एक सय किलो सुनसहित नियन्त्रणमा लिइएको थियो ।
तौल पत्ता लगाउन सुन पठाइयो राष्ट्र बैंक 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्यसैले विभागले सुन जोख्न आज राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् ।


क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एक सय किलो सुन, #ट्याक्सीमा राख्ने, #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, #सुन बरामत, #सुरक्षा र भन्सार जाँच

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं