Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

राष्ट्रपति पाउने आशमा कांग्रेस चुपचाप, सरकारको आलोचना गर्नै मुख बन्द


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस एजेण्डा विहिन बनेको छ । पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको कांग्रेस एक महिना एक साता पुग्दा समेत एजेण्डा विहिन बनेको हो । सभामुख र उपसभामुख पद गुमाएको कांग्रेस माओवादीको साथ लिएर राष्ट्रपति हत्याउने योजना बुन्दा आफै अलमलमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको एक महिना एक साता पुग्यो । सत्तारुढ दलहरुलाई झक्झक्याउने र गलत गरे खबरदारी गर्नुपर्ने नेपाली कांग्रेस भने भाग पाउने आसमा खुट्टा उचालेर बसेको छ ।

प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने संसदीय ब्यवस्थाको धज्जी उडाएको कांग्रेस सरकारको आलोचना गर्न समेत चाहदैन । किनकी सभामुख र उपसभामुख पद गुमाएपनि राष्ट्रपति आफूले पाउने कसरतमा कांग्रेस लागिरहेको छ । सत्ता गुमाएपछि पनि कांग्रेस सामुहिक छलफलमा जुट्न सकेको छैन् । पटक–पटक केन्द्रीय समिति बैठक बोलाएपनि स्थगित हुँदै आएको छ । यदि बैठक बस्यो भने नेताहरुले केन्द्रदेखि प्रदेशसम्मको सत्ता गुमाउदाको आक्रोश पोख्ने छन् । सभापति शेरबहादुर देउवा र उनी निकट नेताहरुले प्रचण्डलाई प्रधानमन्त्री नदिदा भत्किएको गठबन्धनको मात्रै होइन् महामन्त्री र पदाधिकारीले खेलेको भूमिकाका बिषयमा समेत बैठकमा आरोप–प्रत्यारोप चल्नेछ ।

अहिले बनेको सत्तारुढ गठबन्धन र प्रधानमन्त्री प्रचण्डप्रति पनि नेताहरुले कडा आलोचना गर्ने भएका कारण पनि कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक टार्दे आएका छन् । बरु, सभापति देउवाले पदाधिकारी बैठक मार्फत राष्ट्रपति निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलामध्ये एक जना राष्ट्रपतिको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । सरकारसँग सौदाबाजी गर्न खोजेको कांग्रेसले राष्ट्रपति निर्वाचनअघि केन्द्रीय समिति बैठक बोलाउने अवस्था देखिदैन ।

कांग्रेसकै कारण सत्तारुढ गठबन्धनमा खटपट सुरु भइसकेको छ । कांग्रेसले दिएको विश्वासको मत प्रधानमन्त्री प्रचण्डलाई भारी भएको छ । कांग्रेसकै कारण आफू प्रधानमन्त्री बन्दा एमालेसँग भएको सहमति कार्यान्वयनमा समेत प्रचण्डले आलटाल गरिरहेका छन् । एमालेलाई राष्ट्रपति दिने सहमति नभएको भन्दै राष्ट्रिय सहमतिका लागि छलफल गर्ने निर्णय गरिनुले माओवादीको दोहोरो चरित्र देखिएको छ । यहि दोहोरो चरित्रमा कांग्रेसले दाउ खोजिरहेको छ । राष्ट्रपति पाउने आस गरेको कांग्रेसले सरकारको काम कारवाहीमा समेत खबरदारी गर्ने अवस्था देखिदैन ।

प्रमुख प्रतिपक्ष दल दाबी गर्दै संसद सचिवालयमा पत्र बुझाउने कांग्रेस सरकारको आलोचना गर्न भने डराइरहेको छ । सरकारलाई विश्वासको मत दिने र संसदमा प्रतिपक्ष दलको बेञ्चमा बस्ने कांग्रेसले सत्ता गठबन्धनमा देखिएको खटपटलाई नजिकबाट हेरेको मात्रै छैन् फुट भए सरकारमा जान समेत पछि नपर्ने सोचमा छ । प्रतिपक्षले सरकारको आलोचना नगरेपनि सत्तारुढ दल एमालेकै नेताले सरकारमाथि प्रश्न उठाएका छन् । संसदको पहिलो दल कांग्रेसको यो पर्ख र हेरको अवस्थाले आफै कमजोर बनिरहेको छ । न सत्तामा जान सक्ने न त सत्ता बाहिर रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने । दोधारे चरित्र देखाएर अघि बढ्न खोजेको कांग्रेस एजेण्डा विहिन बनेर चुकिरहेको छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #एजेण्डा विहिन, #कांग्रेस एक महिना, #कांग्रेस माओवादीको साथ, #पुष्पकमल दाहाल प्रचण्ड

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं