सत्ता गठबन्धनका सांसदहरुबीच नै जुहारी, एमाले र माओवादीलाई राप्रपाको चुनौति

सत्तारुढ दलका सांसदहरुबीच संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे संसदमै जुहारी चलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुलाई संघीयताबारे अनावश्यक टिप्पणी गरे कारवाही गर्ने चेतावनी दिएका थिए । तर, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मन्त्री बनेकाहरुले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबारे अभिब्यक्ती दिएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रका सांसदले प्रश्न उठाएपछि संसदमा जुहारी चलेको हो । प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारुढ दलका सांसदहरुबीच नै जुहारी चलेको छ ।
सरकारमा रहेका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुबीच आरोप–प्रत्यारोप नै चल्यो । एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री र राप्रपाका मन्त्रीहरुको मत बाझिएको भन्दै यो राम्रो संकेत नभएको बताएका थिए । कानुनमन्त्री धुब्रबहादुर प्रधानले दिएको अभिव्यक्तिपछि प्रधानमन्त्रीले राष्ट्रिय सभा बैठकमा सचेत गराएको भएपनि शहरी विकासमन्त्री बिक्रम पाण्डेको त्यस्तै अभिव्यक्ति आएको भन्दै उनले आधारभूत संरचनाबारे प्रधानमन्त्री र मन्त्रीहरुको धारणा बाझ्नु मुलुकको लोकतन्त्रका लागि राम्रा नभएको टिप्पणी गरे ।
त्यस्तै, माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसद र सडकमा बहस हुनसक्ने, तर क्यबिनेटमा बसेर संविधानको मूल्य भन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य नहुने चेतावनी दिए । एमाले सांसद पन्त र माओवादी केन्द्रका सांसद बस्नेतले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिबारे प्रश्न उठाएपछि राप्रपाका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाही प्रतिवादमा उत्रिए । उनले बस्नेतले बोलेको विषयमा नियमापत्ति जनाए । त्यसपछि सभामुख देवराज घिमिरेले बस्न आग्रह गरे । तर, एमाले सांसद रघुजी पन्त र शक्तिबहादुर बस्नेतले उठेर केही बोल्न खोजिरहेका थिए ।
सभामुख घिमिरेले बस्न आग्रह गर्दै ‘समय लिएर बोल्न ध्यानाकर्षण गराए । त्यसपछि बोल्ने समय पाएका राप्रपाका महामन्त्री एवंम् सांसद डा. धवलशमशेर जबराले आफूहरूलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै लागि जनताले मत दिएको भन्दै संसदमा नहेप्न चेतावनी दिए । उनले संविधानले नरोक्ने र आफूहरु बोल्न पाउनुपर्ने बताए । तर, उनको भनाइप्रति जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले चर्को असन्तुष्टि पोखे । संविधानविरुद्ध बोलिरहे आफूहरू सदन घेर्न बाध्य हुने उनले चेतावनीसमेत दिए । उनले भने, ‘प्रधानमन्त्रीजीले मन्त्रीहरुलाई स्पष्टीकरण सोध्छु भन्नुभएको थियो । त्यो के भयो रु यदि यही रवैया रह्यो भने हामी सदन घेर्न बाध्य हुन्छौं । होइन भने यस्ता अनुशासनहीन र संविधान नमान्ने मन्त्रीलाई बर्खास्त गर्नुपर्छ ।’
प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको बोलीमा लगाम लगाउन खोज्नु र राप्रपाबाट सरकारमा पुगेका मन्त्रीहरुले यो ब्यवस्थामाथि नै प्रश्न उठाउनुले अझै सरकारमा टसल पर्ने देखिन्छ । राजतन्त्र फाल्न १० बर्ष शसस्त्र विद्रोह गरेको माओवादी र राजतन्त्र पुर्नस्थापनाको एजेण्डा बोकेको राप्रापाबीचको सत्ता सहयात्रामा यस्ता धेरै जुहारी चल्ने निश्चित छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गणतन्त्र र धर्म निरपेक्षता, #संघीयता, #संघीयताबारे अनावश्यक टिप्पणी, #संसदमै जुहारी
तपाईको कमेन्ट लेख्नुहोस्