पाँचौं पटक संसदीय दलको नेतामा देउवा, छैटौं पटक प्रधानमन्त्रीको मुख्य दाबेदार

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक पार्टीको संसदीय दलको नेता बनेका छन् । हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । प्रतिनिधिसभामा ठूलो दलका रूपमा रहेको कांग्रेसका सभापति देउवा अब वर्तमान सत्ता गठबन्धनमा बहुमतको गणित पुर्याएर प्रधानमन्त्री बन्ने दाउमा छन् । ०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए । दलको नेता भएकै कारण उनी ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बनेका थिए ।
पार्टीभित्रको समीकरणमा तत्कालीन सभापति कोइराला र नेता कृष्णप्रसाद भट्टराईको द्वन्द्व र माओवादी द्वन्द्व व्यवस्थापनमा असफल भएको आरोपका कारण देउवाले दोस्रो र तेस्रो पटकसमेत प्रधानमन्त्री बन्ने मौका पाए । ०६२/०६३ को परिवर्तनयता पनि देउवा दुई पटक प्रधानमन्त्री भइसकेका छन् । ०६४ र ०७० का दुवै संविधानसभा निर्वाचनमा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेपनि पराजित भएका देउवा ०७२ मा पार्टीको सभापति निर्वाचित भएपछि भने निरन्तर सभापति र दलको नेता छन् । ०७४ मा देउवाले संस्थापनइतर समूहका प्रकाशमान सिंहलाई पराजित गरेका थिए । वैधानिक सभापतिय प्रणालीमा चलिरहेको कांग्रेसमा संगठन र शक्ति सभापतिसँग हुन्छ ।
पछिल्लो तीन दशक निरन्तर शक्तिमा रहेर पार्टीमा संगठन गरेका देउवाले यसपटक १४औँ महाधिवेशनपछिको केन्द्रीय समितिमा ८० प्रतिशत बहुमत हासिल गरेका छन् । उनले निर्वाचनमा टिकट वितरण पनि त्यहीअनुसार गरेका थिए । यसपटक संसदीय दलको निर्वाचनमा उनलाई ३० वर्ष कान्छा महामन्त्री थापाले चुनौती दिएका थिए भने उनीविरुद्ध नेता शेखर कोइराला, पार्टी उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेता प्रदीप पौडेललगायतको मोर्चाबन्दी थियो । सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि अब उनको नेतृत्वमा सत्ता गठबन्धनको सरकार गठनकालागि बाटो खुला भएको छ ।
देउवाले गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दलहरुलाई संसदीय दलको नेता चयन भइसकेपछि शक्ति बाँडफाँट गर्ने आश्वासन दिदै आएका थिए । देउवा दलको नेता चुनिएपछि अब गठबन्धनमा शक्ति बाँडफाँट र नयाँ सरकार गठनको छलफल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनकालागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएकी छिन् ।
देउवाको राजनीतिक यात्रा
छैटौँ पटक प्रधानमन्त्री बन्ने प्रयासमा रहेका देउवा संसद्को ठूलो दल नेपाली कांग्रेसको दोस्रो पटक सभापति छन् । संसदीय राजनीतिमा समकालीन नेतामध्ये सबैभन्दा वरिष्ठ उनी डडेलधुराका स्थायीवासी हुन् । वि.सं. २००३ सालमा असिग्राममा जन्मिएका उनी २०२० सालदेखि नै कांग्रेसको राजनीतिमा सक्रिय छन् । विद्यार्थी राजनीतिबाट २०२८ सालमा नेविसंघको निर्वाचित सभापति भएका देउवाले पटक–पटक गरी १० वर्ष १० महिना जेल जीवन बिताए । ०४८ देखि नै उनी डडेलधुराबाट सांसद निर्वाचित हुँदै आएका छन् ।
पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने उनले दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए । पहिलो संविधानसभामा डडेलधुरा र कञ्चनपुर ४ र दोस्रो संविधानसभामा डडेलधुरा र कैलाली ४ बाट निर्वाचित भएका हुन् । प्रधानमन्त्री भएका बेला पार्टीको निर्देशनविपरीत २०५९ जेठ ८ मा संकटकाल लम्बाउने निर्णय गरेको भन्दै साधारण सदस्यतासमेत नरहने गरी निष्कासनमा परेका देउवाले २०५९ असोज ४ मा पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गरी सभापति बनेका थिए । ०६४ मा पार्टी एकीकरणपछि देउवा दोस्रो मर्यादाक्रममा रहँदै आएका थिए । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका देउवा २०५२ मा सर्वसम्मत र २०५८ मा सुशील कोइरालालाई पराजित गरी संसदीय दलको नेता भएका थिए ।
०७० माघमा भने देउवा कोइरालासँग संसदीय दलमा पराजित भएका थिए । त्यसअघि ०६६ असारमा भएको दलकै निर्वाचनमा नेता रामचन्द्र पौडेलसँग पनि पराजित भएका थिए । कांग्रेस राजनीतिमा देउवालाई ‘भाग्यमानी व्यक्ति’का रूपमा लिइन्छ । उनी ४९ वर्षमै प्रधानमन्त्री भएका नेता हुन् । ०५१ को मध्यावधि निर्वाचनमा विपक्षी दलको नेता चुनिएपछि प्रधानमन्त्रीका लागि बाटो खुलेको थियो । अल्पमतको एमाले सरकारको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि देउवाको प्रधानमन्त्री बन्ने भाग्य खुलेको हो ।
देउवा ०५२, ०५८ र ०६१ मा गरी तीन पटक प्रधानमन्त्री बने, ०६२/०६३ को परिवर्तनपछि पनि उनी दोहोरिएर प्रधानमन्त्री छन् । ०५८ मा प्रधानमन्त्री बनेका देउवालाई ०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रतिगामी कदम चाल्दै हटाएका थिए । देउवालाई हटाएपछि राजाको प्रतिगमनविरुद्धको आन्दोलन चर्किएको थियो । आन्दोलन चर्किएपछि राजा ज्ञानेन्द्रले देउवालाई ०६१ मा पुनः प्रधानमन्त्री बनाएका थिए । राजाले पुनर्बहाली गर्ने भनेपछि देउवा प्रतिगमन सच्चिएको भन्दै प्रधानमन्त्री बनेका थिए । तर २०६१ माघ १९ मा ज्ञानेन्द्रले देउवालाई पुनः हटाउँदै सक्रिय शासन सुरु गरेका थिए ।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने उनले पटक–पटक हार बेहोरेका छन् । देउवा ०५६ चैतमा पहिलो पटक भएको संसदीय दलको निर्वाचनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धी थिए । त्यसबेला उनी पराजय भए । ०५७ पोखरामा भएको दशौँ महाधिवेशनमा तत्कालीन पार्टीका नेता गिरिजाप्रसाद कोइरालासँग उनी सभापतिमा प्रतिस्पर्धा गरे । सन्त नेता कृष्णप्रसाद भट्टराईको तय भइसकेको फ्रान्स भ्रमण जानसमेत नदिई प्रधानमन्त्रीबाट हटाइएपछि देउवा त्यसैको असन्तुष्टिमा कोइरालाविरुद्ध पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।
०५८ साउनमा देउवा संसदीय दलको नेता निर्वाचित भएका थिए । तत्कालीन नेता सुशील कोइरालालाई पराजित गरी देउवा पहिलो पटक संसदीय दलको नेता बनेका थिए । उनी १२ औँ महाधिवेशनमा फेरि पार्टी सभापतिमा पराजित भए । १३ औँ र १४ औँ महाधिवेशनमा उनी निरन्तर सभापति चुनिएका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #छैटौं पटक प्रधानमन्त्री, #शेरबहादुर देउवा
ताजा खबर
- १सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- २भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ३समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
- ४ओलीले सांसदहरूलाई भनेढुक्क रहनू, हाम्रा सबै नीति सही छन्
- ५अस्ट्रेलियामा आम निर्वाचनः एक करोड ८० लाख मतदाता
तपाईको कमेन्ट लेख्नुहोस्