Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

आफैलाई प्रधानमन्त्री घोषणा गर्दै किन हिड्छन् प्रचण्ड, तेस्रो दलले नेतृत्व पाउने कति सम्भव ?


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई छिट्टै प्रधानमन्त्री बन्ने संकेत गरेका छन् । नेपाली कांग्रेसमै झण्डै आधा दर्जन बढि नेताहरु प्रधानमन्त्री बन्ने दौडमा रहेको अवस्थामा प्रचण्ड भने कांग्रेसभित्रको अन्तरविरोधको समेत फाइदा उठाई प्रधानमन्त्री बनिछाड्ने दाउमा देखिन्छन् । प्रतिनिधिसभा निर्वाचनअघि नै प्रधानमन्त्रीमा दावी पेश गरिसकेका प्रचण्डले चुनावपछि पनि निरन्तर उक्त दावी दोहो¥याईरहेका छन् ।

बुधबार आफूले पढेको कास्कीको महेन्द्र आधारभूत विद्यालयको हिरक महोत्सवमा प्रचण्डले छिट्टै नै आफूलाई प्रधानमन्त्री बन्ने अवसर आउन लागेको बताएका थिए । उनले सिधै प्रधानमन्त्री बन्छु भनेर ठोकुवा नगरेपनि सबैको आशिर्वाद भयो भने प्रधानमन्त्री बन्ने अवसर छिट्टै आउन लागेको भनेर प्रधानमन्त्रीमा आफ्नो दावी भने दोहोर्याए । यसअघि दुई पटक प्रधानमन्त्री बनिसकेका प्रचण्डले पहिलो कार्यकाल बुझ्न मै गएकाले केही गर्न नसकिएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । दोस्रो कार्यकालमा केही राम्रा काम गरेको दावी गर्ने प्रचण्ड जीवनको उत्तरार्धमा उल्लेखनीय काम गर्ने दावीसहित तेस्रो पटक प्रधानमन्त्री बन्ने दौडमा छन् ।

चुनावमा माओवादी केन्द्रको कमजोर प्रदर्सनपछि पनि उनी प्रधानमन्त्री बन्नका लागि निरन्तर राजनीतिक भेटघाटमा व्यस्त देखिन्छन् । हरेक मूल्यमा थोरै समयका लागि भए पनि प्रधानमन्त्री बनिछाड्ने तयारीमा रहेका उनी सत्ता गठबन्धनमा रहेका दलका नेतासँग मात्रै होइन दोस्रो तहका नेताहरुमार्फत नेकपा एमालेसँग पनि निरन्तर सम्वादमा छन् । यतिमात्रै होइन आधा दर्जनबढी नेताहरु प्रधानमन्त्रीको दौडमा रहेको नेपाली कांग्रेसको अन्तरसंघर्षमा खेलेर भए पनि प्रधानमन्त्री बनि छाड्ने दाऊमा छन् ।

सोमबार कांग्रेसका तीनधारका तीन जना नेताहरु क्रमशः शेखर कोइराला, अर्जुननरसिंह केसी र खानेपानी मन्त्री समेत रहेका उमाकान्त चौधरीलाई पालैपालो भेटेका उनले यसलाई सामान्य भेटघाट बताएका थिए । शान्ति प्रक्रियामा आएपछि अर्थात २०६४ मा पहिलो शक्ति बनेको माओवादी केन्द्र त्यसपछि लगातार तेस्रो स्थानमा छ । बिगतमा जस्तो अहिले माओवादी केन्द्र पहिलो वा दोस्रो ठूलो दलमध्ये जतातिर लाग्यो त्यतै सरकार बन्ने अवस्था त छैन । तर, पनि उसले आफ्नो बार्गेनिङ पावर भने गुमाइसकेको छैन ।

त्यसैले गठबन्धनबाटै प्रधानमन्त्री बन्नुलाई पहिलो प्राथमिकतामा राखेका प्रचण्डले एमालेसँग मिलेर भए पनि कार्यकारी भुमिकामा गइछाड्ने संकेत देखाएका छन् । यस्तो अवस्थामा सत्ता समिकरण कस्तो बन्छ ? आलोपालो प्रधानमन्त्री बन्ने अवस्था आयो भने पहिलो प्रधानमन्त्री बन्ने अवसर कसले पाउँछ ? भन्ने आकलन पनि गरिएको छ । तर, ८९ सिट पाएर पहिलो दल बनेको कांग्रेसले उनलाई सित्तैमा प्रधानमन्त्री बनाइदिने सम्भावना भने कमै छ । नेकपा एमालेसँग पनि संवादमा रहेका प्रचण्डलाई अध्यक्ष केपी ओलीले पनि सत्ताको बागडोर देलान भन्ने अनुमान मिल्ने सम्भावना पनि निक्कै कम छ । तर, पनि प्रचण्ड भने प्रधानमन्त्री बन्ने भन्दै प्रचारबाजी गरिरहेका छन् ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कांग्रेसमै झण्डै आधा दर्जन, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री बन्ने संकेत

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं