संसदमा गृहमन्त्री खाँणलाई सांसदको प्रश्नै–प्रश्न,बर्दियामा नवीना चौधरीलाई कसले हान्यो गोली

काठमाडौं । बर्दियामा नवीना चौधरीको प्रहरीको गोलीबाट मृत्यु भएको घटनाको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणले लिनुपर्ने सांसदहरूले माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री खाणले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनीहरुले प्रहरी छाडा भएको हो भन्दै प्रश्न उठाएका थिए । तर, गृहमन्त्री खाँणले घटनाको अनुसन्धानको लागि छानविन समिति बनाएको भन्दै दोषीले उन्मुक्ति नपाउने दाबी गरेका छन् ।
गृहमन्त्री वालकृष्ण खाँणले बर्दियाको मधुवन सोनामा प्रहरीको गोलीबाट मारिएकी नविना चौधरीको घटनाबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन् । उनले सीडीओको आदेशबिना प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता पनि जनाए । गृहमन्त्री खाँणले दोषीलाई कारवाही गर्न र घटनाको सत्यतथ्य छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको जानकारी गराए ।
घिमिरेको नेतृत्वमा प्रहरी उपरिक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका गिरिराज पाण्डे लगायत ५ जनाको छानविन समिति बनाइएको छ । तर, गृहमन्त्री खाँणले दिएको जानकारी चित्त बुझदो नभएको भन्दै सांसदहरुले प्रश्न सोधेका थिए । एमाले सांसद खगराज अधिकारीले विना आदेश गोली चलाउने प्रहरीलाई तत्काल निलम्बन गरियो कि गरिएन ? भन्दै गृहमन्त्री खाँणलाई प्रश्न गरेका थिए । उनले मादक पदार्थ सेवनबाट यौन हिंसाका घटना बढिरहेकोले मादक पदार्थ रोक्न सरकारले केही गरेको छ कि छैन भन्दै प्रश्न तेर्याएका थिए ।
त्यस्तै, गृहमन्त्री खाँणलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेपाल मजदूर किसान पार्टी र सत्तापक्षीय कांग्रेसकै सांसदहरुले प्रश्न गरेका थिए । एमालेका सांसद डाक्टर भीम रावल, खगराज अधिकारी र गंगा चौधरीले बाजुरा, बर्दिया र अछाममा भएका आपराधिक घटनाका सन्दर्भमा स्पष्टीकरण मागेका थिए । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले अपराधिक घटनाको अनुसन्धानमा राजनीतिक पूर्वाग्रहका कारण निर्दोष व्यक्ति फस्नसक्ने कुरामा सजग रहन सुझाव दिए ।
जवाफमा मन्त्री खाँणले सांसदहरुले उठाएका सबै सवालहरुमा सरकार गम्भीर रहेकाले विना पूर्वाग्रह सत्य तथ्य र न्यायीक छानबिन गरी दोषीलाई कारावाही गर्न सरकार दृढ रहेको बताएका थिए । संसदमा विभिन्न दलका सांसदहरूले बाँकेमा भएको सामूहिक बलात्कार र बर्दियामा प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सरकारको धारणा माग गरेपछि गृहमन्त्री खाँणले जवाफ दिएका हुन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गृहमन्त्री बालकृष्ण खाँण, #प्रतिनिधि सभा, #बर्दियामा नवीना चौधरी
तपाईको कमेन्ट लेख्नुहोस्