देशभर चुनावी चहल–पहल,उमेद्वार घरदैलोमा मत माग्दै

काठमाडौं । वैशाख ३० गते ७ सय ५३ वटा पालिकास्तरमा हुने चुनावको सरगर्मी ह्वात्तै बढेको छ । निर्वाचन आयोग मतपत्र र आवश्यक निर्वाचन सामाग्री जिल्ला हुँदै पालिकास्तरमा पुर्याउन ब्यस्त देखिदा मनोनयन दर्ता गराएका उम्मेदवारहरु भोट माग्दै घरदैलो कार्यक्रममा दौडधुप गरिरहेका छन् ।
निर्वाचन आयोगले ६४ जिल्लामा एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिसकेको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मधेस प्रदेशका जिल्ला र बाग्मती प्रदेशका केही जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी रहेको जानकारी दिए । काठमाडौंबाट एकै दिनमा ढुवानी गर्न सकिने बाँकी १३ जिल्ला र ६ वटा महानगर काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगरमा पनि छिट्टै मतपत्र पुर्याउने तयारीमा निर्वाचन आयोग जुटेको छ ।
मनाङ र मुस्ताङमा हेलिकप्टरबाट मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगले यही वैशाख १३ गतेदेखि मतपत्र ढुवानीसँगै निर्वाचन सामाग्री पुर्याउने क्रमलाई तिब्रता दिएको थियो । पालिका चुनावको मुख्य दिन आउन अब १० दिन मात्रै बाँकी रहँदा उम्मेदवारहरु भने दलबलसहित मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । बैशाख २७ गते मध्यरातसम्म देखिने चुनावी उत्सबका चलह पहल यसपछि भने निर्वाचन आचारसंहिताका गर्न पाइने छैन ।
पोस्टर, भित्ते लेखन, तुल, ब्यानर प्रयोगमा कडाई
निर्वाचन आयोगले पालिका चुनावका क्रममा पोस्टर, भित्ते लेखन, तुल, ब्यानरलाई प्रयोगमा भने रोक लगाएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता २०७८ लागू गरेको आयोगले आचारसंहिताअनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न राख्न वा टाँस्न बन्देज गरेको छ ।
कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका ठाउँमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यरदृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने प्रावधान राखेको छ ।
दल वा उम्मेदवारको चुनाव चिह्न वा दलको झण्डाको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने, कुनै किसिमको भित्ते लेखन गर्न वा गराउन नहुने व्यवस्था विपरीत कतिपय ठाउँमा कानुनले वर्जित गरेका यस्ता कार्य भइरहेकोप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ । अहिले पनि मत माग्न पुगेका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरितका गतिबिधि जारी राख्दा समेत कारबाही गर्न आयोगले चासो देखाउन सकेको छैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #७ सय ५३ वटा पालिका, #घरदैलो कार्यक्रम, #तुल, #निर्वाचन आयोग, #पोस्टर, #ब्यानर, #भित्ते लेखन
तपाईको कमेन्ट लेख्नुहोस्