नेपालमा झन् बढ्यो भ्रष्टाचार, राजनीतिक आडमा लेनदेन र कमिसन, कर्मचारी तन्त्रमा घुसखोरी

काठमाडौं । यो वर्ष नेपाल झन् भन्दा झन् बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ । अघिल्लो वर्ष र यो वर्ष नेपालले एउटै स्कोर प्राप्त गरेपनि सुक्ष्म रुपमा अध्ययन गर्दा भ्रष्टाचार झन् बढेको हो । पार्टीगत भागबण्डामा मात्रै सबै क्षेत्रमा काम हुनु, न्यायिक क्षेत्रमा दोहोरो व्याख्या, कर प्रशासन र आयात निर्यातका क्रममा घुसखोरीजस्ता गतिबिधि झन् बढेपछि नेपाल अझै भ्रष्ट मुलुकमा गनिन पुगेको छ । नेपालको सुशासनको स्तर थप खस्किएको छ । भ्रष्टाचारविरुद्ध वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल टीआइले मंगलबार सार्वजनिक गरेको करप्सन परसेप्सन इन्डेक्स अर्थात् भ्रष्टाचार अवधारणा सुचकाँकका आधारमा नेपालमा सुशासनको अवस्था झन् खस्किएको देखाएको छ ।
टीआइले सार्वजनिक गरेको इन्डेक्सका आधारमा नेपालले गत वर्षकै झैं औसतमा ३३ अंक पाएर १८० देशमध्ये ११७ औं स्थानमा रहेको छ । आन्तरिकरुपमा अंकलाई सुक्ष्म विश्लेषण गर्दा नेपालमा भ्रष्टाचारजन्य गतिबिधि झन् बढ्दै गएको छ । नेपालले १०० मा ३३.१ अंक पाएको छ । गतवर्ष ३३.३ अंक रहेको थियो । स्कोर घट्दा भ्रष्टाचार बढेको देखाउँछ । इन्डेक्सका आधारमा ५० भन्दा कम स्कोर पाउने मुलुक बढी भ्रष्टाचार हुने मुलुकमा पर्दछ । नेपालमा भ्रष्टाचार बढ्नुमा राजनीतिक भागबण्डामा मात्रै सबै काम हुनु नै प्रमुख कारण रहेको छ । अन्तको के कुरा भ्रष्टाचार नियन्त्रण गर्ने संस्थामा नै राजनीतिक नियुक्ति हुनुले भ्रष्टाचारको अवस्था झन् डरलाग्दो देखाउँछ ।
कानुनको अस्पष्टताका कारण न्यायिक क्षेत्रमा एउटै विषयको पनि दोहोरो ब्याख्या, सँगसँगै कर प्रशासन र आयात निर्यातकाक्रममा घुसखोरी लगायतले भ्रष्टाचार मौलाउँदो अवस्थामा देखिएको छ । सरकार प्रमुख र कुन पार्टीका नेताले कस्तो स्वार्थ राखे र काम गरे त्यो अनुसार भ्रष्टाचार बढीरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलको ठम्याई छ । चुनावमा भोट खरिद गर्ने र जितेपछि रकम उठाउने क्रिप्टोक्र्यासी बढ्दो अवस्थामा देखिएकाले नेपालमा भ्रष्टाचार अझै बढ्ने संकेत देखिइरहेको छ । अब त जसरी कमाए पनि पैसा टन्न हुनेलाई सम्मान गर्ने, विद्धान् हो भन्ने सामाजिक मान्यता बढ्दै जाँदा भ्रष्टाचारलाई मलजल हुन थालेको गलत परम्परा डरलाग्दो रुपले अगाडि बढेको ट्रान्सपरेन्सीको ठहर छ ।
सिपिआइका अनुसार २०२१ मा दुई तिहाई मुलुकले ५० भन्दा कम स्कोर प्राप्त गरी बढी भ्रष्टाचार हुने मुलुक बनेका छन् । यसपालिको सर्वेक्षणमा परेका १८० मुलुकमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्डले ८८ अंक पाएर राम्रो सुशासन भएको मुलुक बनेका छन् । दक्षिणी सुडानले ११ अंकमात्रै पाएर सबैभन्दा बढी भ्रष्टाचार व्याप्त मुलुक बनेको छ । जुनसुकै देशमा नागरिक हक, अधिकार कमजोर रहेसम्म भ्रष्टाचार झन् बढ्दै जाने विज्ञहरुको विश्लेषण छ । त्यसैले नागरिकलाई सुशुचित गर्नु नै भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो उपाय हुनेछ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ट्रान्सपरेन्सी इन्टरनेशनल, #भ्रष्टाचार
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्