तालिबानको नयाँ शिक्षा नीति, पुरुष शिक्षकले पर्दा पछाडिबाट पढाउन सक्ने
काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले उच्च शिक्षा सम्बन्धी नीति सार्वजनिक गरेको छ । पहिलोपटक अफगानिस्तानमा शासन गर्दा महिला तथा बालिकाहरुलाई विद्यालय र विश्वविद्यालयको शिक्षामा प्रतिबन्ध लगाएको तालिबानले यसपटक भने महिलाहरूलाई शिक्षा लिन र रोजगारीमा प्रतिबन्ध नलगाउने जनाएको छ । महिला र पुरुषहरु सँगै बसेर पढ्न नपाउने तालिबानले जनाएको छ । उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने तर पुरुषहरूसँगै बसेर भने पढ्न नपाउने बताएको बीबीसीले जनाएको छ । तालिबानका अनुसार अफगानिस्तानका विश्वविद्यालयहरुलाई महिला र पुरुष विद्यार्थी पढाइ हुने गरी छुट्याइने छ र इस्लामी ड्रेस कोड लागू गरिने छ ।
तालिबानको नयाँ नीतिले महिलाहरु शिक्षाबाट वन्चित हुन सक्ने विश्लेषण पनि भइरहेको छ । किनभने विश्वविद्यालयमा महिला र पुरुष विद्यार्थीहरुलाई अलग–अलग कक्षा सन्चालन गर्ने पर्याप्त स्रोतसाधन छैन । यद्यपि हक्कानी भने महिला शिक्षकहरुको संख्या पर्याप्त रहेको दाबी गर्दछन् । कमी भएको स्थानमा दोस्रो विकल्प सोचिने उनले बताए । उनले भने, ‘यो सब विश्वविद्यालयको क्षमतामा निर्भर गर्दछ । पर्दा पछाडिबाट पढाउनका लागि पुरुष शिक्षक वा प्रविधिको सहयोग लिन सक्नेछन् ।’ हक्कानीका अनुसार विद्यार्थीहरूलाई पढाउने विषयहरूको समीक्षा भइरहेको छ ।
हक्कानीले पत्रकारहरुसँग भने, ‘तालिबान वाजिब र इस्लामी पाठ्यक्रम बनाउन चाहन्छ, जो हाम्रो इस्लामी, राष्ट्रिय र ऐतिहासिक मूल्यअनुसार होस् । अर्कोतर्फ यो अन्य देशसँग प्रतिस्पर्धा गर्न पनि सक्षम होस् ।’ यो नयाँ नियमलाई अफगानिस्तानका नागरिकले स्वीकार गर्ने हक्कानीले विश्वास व्यक्त गरे । उनले भने, ‘जनता मुस्लिम हुन्, त्यसैले उनीहरुले यसलाई स्वीकार गर्छन् ।’ देशको प्राथमिक र माध्यमिक विद्यालयमा महिला र पुरुषहरुलाई अलग(अलग शिक्षा दिइने छ ।
यो रुढीवादी अफगानिस्तानमा पहिलेदेखिकै चलन हो । छात्राहरुले हिजाब (पूरै शरीर ढाकिने पोशाक) लगाउनु पर्नेछ । राष्ट्रपति भवनमा तालिबानले आफ्नो झण्डा फहराएको भोलिपल्ट उच्च शिक्षा नीति घोषणा गरेको हो । यसलाई तालिबान शासन सुरु भएको संकेतको रुपमा हेरिएको बीबीसीले जनाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्