वार्ता, संवाद छोडेर प्रचण्ड चितवनमा,नेकपा बिवाद जस्ताको त्यस्तै

काठमाडौं । आन्तरिक विवादमा रुमल्लिएको सत्तारुढ दल नेकपामा नेताहरुबीच छलफल नै ठप्प छ । पार्टीभित्रको किचलो समाधानका लागि भन्दै अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा लगाउँदै स्थायी कमिटि बैठक साउन २ गतेसम्मका लागि स्थगित छ । तर, बैठक सारिए यता दुई अध्यक्षको बीचमा छलफल नै ठप्प हुँदा नेकपा विवाद अझै कति समय लम्बिने हो पत्तै छैन् । नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगेका बेला चिनियाँ राजदुत होउ यान्छीको राजनीतिक भेटघाटले तिब्रता पायो । शुक्रबार बोलाइएको स्थायी कमिटि बैठक अध्यक्षद्धय ओली र प्रचण्डले थप छलफल गर्नुपर्ने भन्दै एकसाता अर्थात साउन २ गतेसम्म स्थगित गरियो ।
अध्यक्षद्धयबीच पछिल्लो असार २५ को छलफलमा के कुरा भयो भन्ने बाहिर भएको छैन् । दुई अध्यक्ष मात्रै होइन दोस्रो तहका नेताहरुको समेत आरोप–प्रत्यारोप कम भएको छ । यसलाई सबैले चिनियाँ राजदुतको सक्रियता नै भनेका छन् । तर, छलफललाई थाँती राख्दै कार्यकारी अध्यक्ष प्रचण्ड चितवन पुगेका छन् । उनी चितवन पुगेर दुई दिनमा दिएका अभिब्यक्ती नै फरक–फरक आएका छन् । शनिबार पार्टीमा विवाद ल्याउन केही खेमा ओली र आफूलाई कुरा लाइरहेको बताएका प्रचण्डले आइतबार भने पार्टीमा कोही दलाल र कोही राष्ट्रवादी नभएको जिकिर गरे । पछिल्ला दुई दिनमा प्रचण्डले पार्टीभित्रको विवादबारे दिएको अभिब्यक्तीले वार्ता सकारात्मक भएको छ भन्न मिल्ने कुनै छाटकाट छैन् । अझ् प्रधानमन्त्री ओलीको पक्षमा भइरहेको आन्दोलनप्रति उनले तिब्र असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री ओली बैठक छल्दै दुबै पद नछाड्ने अडानमा छन् । अध्यक्षबीच नै छलफल ठप्प भएपछि अव साउन २ को स्थायी कमिटि बैठक पनि बस्छ या बस्दैन अनिश्चत छ ।
अझ् प्रधानमन्त्री ओलीलाई साथ दिदै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले केही नेताहरुको छलफलले केही फरक नपार्ने भन्दै ओली दुबै पदका रहने जिकिर गरेका छन् । प्रष्ट भन्न सकिन्छ दुईजना अध्यक्षका बीचमा पटक पटक वार्ता भए पनि सहमति जुट्न नसक्दा स्थायी कमिटीको बैठक पनि पटक पटक सरेको हो । सहमति ओली र प्रचण्डको मात्र होइन, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमसँग पनि हुन जुरुरी छ । उनीहरु सबैबीच एक खालको सहमति नभएसम्म नेकपाको विवाद यसै मिल्ने देखिदैन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #आन्तरिक विवाद
तपाईको कमेन्ट लेख्नुहोस्