रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा ५ का उम्मेदवार वालेन्द्र साह बालेनको चुनावी प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
ग्राण्डी अस्पतालले आइतबार विज्ञप्ति जारी गरी आइतबार दिउँसो १२:४५ बजे उपचारका क्रममा निधन भएको जानकारी दिएको हो ।
जारी विज्ञप्तिमा लेखिएको छ, ‘इन्टेन्सिभ केयर युनिट’ का बाबजुत ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुन: प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वत: श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं ।’
अस्पतालका अनुसार उनलाई सब–अरैक्नोइड ह्यमरेज भएको थियो।
अछाममा बालेनको चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए । उनी चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्षसमेत थिए ।
त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौँ ग्राण्डी अस्पताल भर्ना गरिएको थियो।
उनी बालेनसँग सुदूरपश्चिम यात्रामा थिए । अछाममा अचानक अचेत चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका ४३ वर्षीय सिटौला बालेनको टोलीसँगै केही दिनदेखि सुदूरपश्चिम र कर्णाली क्षेत्रको भ्रमणमा थिए ।
गत शुक्रबार बिहान करिब ९:४५ बजे अछामको मंगलसेन जाने क्रममा एक स्थानमा चिया खान गाडीबाट ओर्लिने क्रममा उनी गाडीबाट लडेका थिए ।
तत्काल उनलाई अछाम जिल्ला अस्पताल पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि जिल्ला प्रशासन कार्यालय अछाम, प्रहरी कार्यालय अछाम र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हवाई उद्धार टोलीले उनलाई सुर्खेत हुँदै काठमाडौँ ल्याएको थियो ।
जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज बूढाले पत्रकार सिटौला अछाम २ का रास्वपाका उम्मेदवार एवं बालेन काठमाडौँको मेयर हुँदादेखिका स्वकीय सचिव भूपदेव शाहको घरमा चिया पिउन जाने क्रममा गाडीबाट लडेको र अस्पतालमा स्थिति अप्ठ्यारो भएको भन्दै सहयोग गरिदिनुपर्यो भनेर सुदूरश्चिम प्रदेशका सभापति प्रकाश विष्टले सहयोग मागेको बताए ।
‘बालेनका सहयोगी भूपदेव शाहको घरमा चिया खाएर निस्किने क्रममा स्कार्पियो गाडीबाट ओर्लन खोज्दा सिटौला ढलेर टाउकोमा चोट लागेको भन्दै रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश विष्टले सहयोग माग्नुभयो।’ उनले भने, ‘अनि मैले गृह मन्त्रालयमा समन्वय गरेर नेपाली सेनाको हेलिकप्टर मगाइदिएँ।’
रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश विष्टले भने आफूलाई त्यसबारेमा थाहा नभएको भन्दै तर्किए। उनले भने, ‘जिल्ला अस्पतालले पनि भनिसकेको अवस्था छ भने ग्राण्डी अस्पतालले पनि विज्ञप्ति निकालिसकेको छ।यसमा मैले केही भन्दै पर्दैन । उहाँ अचेत भएर लडेको हो।’
यता जिल्ला अस्पताल अछामका प्रमुख डा. कमलेश यादवका अनुसार पत्रकार सिटौलालाई अस्पताल ल्याउँदा अवस्था गम्भीर थियो। ‘उहाँलाई अस्पताल ल्याइपुर्याउँदा अचेत अवस्थामा हुनुहुन्थ्यो। रक्तचाप थिएन ।शरीर चिसो भइसकेको थियो भने श्वासप्रश्वाससमेत चलिरहेको थिएन,’ डा. यादवले भने, ‘सिटी स्क्यान गरेपछि मात्र यकिन गर्न सकिन्थ्यो । टाउकोमा चोट लागेर रगत जमेको शंका देखियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले मैले काठमाडौँ लैजानु पर्छ भनेर मैले रेफर लेटर लेखिदिएको हुँ।’
त्यसपछि काठमाडौँ निवासी पत्रकार सिटौलालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौंस्थित ग्रान्डी अस्पतालमा पुर्याइयो ।
उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर शुरू गरियो । तर उपचारमा संलग्न एक चिकित्सकका अनुसार सिटौलालाई ब्रेन ह्यामरेज पुष्टि भयो। उनले भने, ‘उहाँलाई शुरूमै करिब ४५ मिनेटसम्म सीपीआर (मुटु र श्वासप्रश्वास पुनः सञ्चालन गराउन गरिने प्राथमिक जीवनरक्षक उपचार) गरिएको रहेछ ।
ब्रेनको नसा फुटेर रगत जमेको देखिएको थियो । उनका अनुसार सिटौला गाडीबाट लडेर वेहोश हुँदा बालेन सँगै रहेको उनको सचिवालयका बताएको थियो। ‘उनले भने, ‘पत्रकार सिटौला वेहोश हुँदा बालेनजी उहाँको पछाडि नै हुनुहुन्थ्यो । साथीहरूले घटनास्थलमै सीपीआर दिएका थिए। उहाँहरूले वेहोश अवस्थामै सिटौलालाई अस्पताल ल्याउनु भएको थियो ।’
अस्पतालको प्रयास र मृत्युको घोषणा
अस्पतालले आइतबार पत्रकार सम्मेलन गरेर पत्रकार सिटौलाको निधन भएको आधिकारिक जानकारी दिएको छ ।
ग्राण्डी अस्पतालका अनुसार दिनेशलाई गम्भीर किसिमको ‘सबअरेनहाइड हेमोरेज’ (मस्तिष्कको नसा फुटेर हुने रक्तस्राव) भएको थियो । न्युरो सर्जरी र क्रिटिकल केयर टिमले संयुक्त रूपमा उपचार गरे पनि ४८ घण्टापछि उनको स्वास्थ्यमा कुनै सुधार आएन ।
चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न गरिएको ‘अप्नेया’ परीक्षणपछि अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको हो । अस्पतालले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै उनको निधन शुक्रबार दिउँसो १२:४५ बजे नै भएको जानकारी दिएको छ।
यद्यपि रास्वपा नेताहरूले स्वास्थ्य अवस्था सार्वजनिक नगर्न आग्रह गरेका कारण शनिबार बेलुकासम्म अस्पताल प्रशासन औपचारिक रूपमा बोलेको थिएन।
सिटौला चलचित्र पत्रकारितासँग जोडिएका थिए । उनी चलचित्र पत्रकार संघको अध्यक्षसमेत भएका थिए ।
रास्वपाको चुनावी अभियानमा दोहोरिएको वियोग
रास्वपाको चुनावी गतिविधिसँग जोडिएर ज्यान गुमाउने सिटौला दोस्रो व्यक्ति हुन् । यसअघि चितवनमा चुनावी अभियानकै क्रममा २०७९ वैशाखमा पार्टी सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको मृत्यु भएको थियो।
सिन्धुपाल्चोकका ३९ वर्षीय थापा वैशाख ४ गते राति चितवनस्थित लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए ।
टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । सिटौला बालेनको टोलीमा पत्रकारका रूपमा भन्दा पनि टोली सदस्यका रूपमा सहभागी भएको बताइन्छ । जसमा दुई ओटा गाडीमा प्रकाश विष्ट, भूपदेव शाह र अर्जुन घिमिरे (पाँडे) सँगै थिए । सिटौला भने पत्रकारको गाडीमा थिए ।
सिटौला लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय थिए र पछिल्लो समय बालेनको अभियानमा निकट रहेर काम गरिरहेका थिए । चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौला ‘द सिनेमा टाइम्स’ अनलाइन पोर्टलका सम्पादक/अध्यक्षसमेत थिए ।
सिटौलाले एक समय नेपाल टेलिभिजनमा चलचित्र सम्बन्धी कार्यक्रम पनि चलाउँथे। दर्जनभन्दा बढी फिल्महरूमा प्रेस संयोजकका रूपमा काम गरेको पृष्ठभूमि भएकाले सिने क्षेत्रका निम्ति उनी चर्चित पत्रकारका रुपमा चिनिन्थे ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सन्तान र जीवनसाथी गुमाएको पीडा सुनाउँदै प्रचण्डले भने, ‘मलाई खलनायक बन्ने छुट छैन’
- २पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’
- ३कांग्रेस मुसिकोटको बैठकः घरदैलो र मतदाता भेटघाटलाई तीव्रता दिइने
- ४अजयबाबुको अभियानले गर्माउँदै दोलखाको चुनावी माहोल
- ५रहेनन् बालेनको प्रचारमा हिँडेका पत्रकार दिनेश सिटौला, के हो घटना ?



तपाईको कमेन्ट लेख्नुहोस्