सहकारी बैंकको स्तरीकरण कार्यक्रममा सहभागी सप्तरीका संस्थाहरूबिच समीक्षा

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको सहकारी संस्थाहरुको स्तरीकरण कार्यक्रम अन्तर्गत सप्तरी जिल्लामा आबद्ध सहकारी संस्थाहरु बिच “केयर समीक्षा गोष्ठि” भएको छ । केयर कार्यक्रममा आबद्ध सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सप्तरीको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बैंकको केयर कार्यक्रममा आबद्ध संस्थाहरुको वित्तीय अवस्था, सुशासन र आन्तरिक व्यवस्थापन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । राष्ट्रिय बैङ्कका सञ्चालक एवम् मधेश प्रदेशका संयोजक विश्वनाथ मण्डलले केयर कार्यक्रमले संस्थाको विकास र प्रवद्र्वनमा सहयोग पुग्ने बताएका थिए ।
केयर कार्यक्रममा सहभागी सहकारी संस्थाहरुको तर्फबाट आ–आफ्नो संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै सहकारीलाई सुरक्षित रूपमा सञ्चालनका लागि आवश्यक नीति तथा कार्यविधिहरू निर्माण गर्न, सुशासन कायम राख्न, वित्तीय रूपमा सक्षम बनाउन तथा समग्रमा सहकारीको स्वास्थ्य अवस्था सुधार गर्नका लागि सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम प्रभावकारी भएको बताएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक शम्भु बहादुर खड्का, राष्ट्रिय सहकारी बैङ्कका वरिष्ठ प्रबन्धक रामबाबु आचार्य, शाखा समन्वय उपसमितिका संयोजक गणेश आस, शाखा प्रमुख चन्द्र मणि भट्टराई लगायतको सहभागिता रहेको थियो । समीक्षात्मक गोष्ठी कार्यक्रमले ९ बुँदे निष्कर्ष समेत निकालेको छ । संस्थाले जोखिममा रहेको ऋणको आधारमा ऋण सुरक्षणको व्यवस्था गर्ने, प्रत्येक संस्थाले अर्धवार्षिक समीक्षा बैठक गर्ने, संस्थाका सबै कर्मचारीहरूलाई कार्य विवरण प्रदान गर्ने लगायत रहेका छन् ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार
ट्याग : #बैंकको केयर कार्यक्रम, #राष्ट्रिय सहकारी बैंक, #सप्तरी जिल्लामा आबद्ध
तपाईको कमेन्ट लेख्नुहोस्