बर्षेनी सिन्धुपाल्चोकमा बाढी र पहिरो, धनजनको ठूलो क्षति
काठमाडौं । विगतका बर्ष झै यसबर्ष पनि बर्षा सुरु हुने बित्तिकै सिन्धुपाल्चोकमा बाढीले बितण्डा मच्चाएको छ । अविरल बर्षा सुरु भएपछि सिन्धुपाल्चोकका बिभिन्न स्थानमा पहिरो र बाढीले धनजनमा क्षति पुर्याएको छ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा क्षति पु¥याएको छ । बाढीका कारण बस्ती डुबानमा पर्नुका साथै घर र पुल समेत बगाएको छ । दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । बाढीले रातभरमा हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको छ । हेलम्बु र मेलम्चीको पूरै बजार लगभग डुबानमा परेको छ, कयौँ घर बगेका छन् । बाढीमा माटो र बालुवाको मात्रा धेरै देखिएकोले माथिल्लो क्षेत्रमा ठुलठुला पहिरो गएको अनुमान गरिएको छ ।
बाढीले घर नै बगाउन थालेपछि हेलम्बु, ग्याल्थुमवासी ज्यान जोगाउन बजार माथि डाँडामा पुगेका छन् । एक्कासी बाढी बस्तीमा पसेपछि स्थानीयको भागाभाग भएको थियो । मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजनिक जग्गामा बसेका छन । बाढीले १० जनाभन्दा बढीको मृत्यु भएको स्थानीयले बताएका छन् । केही अझै बेपत्ता छन् । उनीहरुको खोजीकार्य जारी नै छ । बाढीका कारण क्षती भएका सडक खुलाई घाइते र बीचबाटोमा अलपत्र सर्वसाधारणलाई गन्तव्यमा पठाउनका लागि दिनभर सुरक्षाकर्मी र स्थानीय जुटिरहे । बाढीका कारण मोटरेवल पुल र झोलुङ्गे पुलहरु बगाएको छ । पानी पर्न नरोकिदा उद्धारमा समेत कठिनाई भइरहेको छ । स्थानीयहरु खोलाको वहाव कहिले घट्ने र कहिले बढ्ने गर्दा त्रासमा छन् । राती खोलाको वहाव घटेपछि सामान निकाल्न खोला छेउका स्थानमा पुग्दा पुन बहाव बढेको र झन ठूलो क्षति भएको घटना स्थानीयले यसरी सुनाउछन् ।
मंगलबार राति नै सुरक्षाकर्मी उद्धारमा खटिएका थिए । सम्भावित अन्य दुर्घटनालाई मध्यनजर गर्दै स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । घरभित्रै रहेका र बाढीका कारण बाहिर आउन नसकेका स्थानीयलाई हेलिक्टरबाट उद्धार गरिएको थियो । बाढी–पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीमा मात्रै करिब पाँच सय जना विस्थापित भएको बताइएको छ । तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । उनीहरुलाई सोही स्थानमै बुधबार बिहानको खाना खुवाइएको थियो । त्यहि सुरक्षित देखेपछि मानिसहरुले आफना घरका सामान क्याम्पमा सारिरहेका छन् । मेलम्ची नगरपालिकाको ११ नम्बर वडामा एक सय घरधुरी डुबानमा परेको छन् । बाढीले कृषि भवन, आयुर्वेद भवन, कभर्ड हल, सिटी पार्क लगायतका भवन क्षतिग्रस्त भएका छन् । दुईवटा पक्की र दुई झोलुङ्गे गरी चार वटा पुल बगेका छन् । खोज तथा उद्धारका लागि नेपाली सेना तथा अन्य नीजि कम्पनीका हेलिकप्टर दिनभर परिचालन गरिएको थियो ।
खोला थुनिएर बस्तीमा आउने क्रम अझै नरोकिदा स्थानीय थप त्रासमा रहेका छन् । हेलम्बु गाँउपालीकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बाढीपछि सडक यातायातलाई सुचारु गर्न सके सर्वसाधारणलाई राहतका साथै अन्य व्यवस्था गर्न सहज हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । स्थानीयको उद्धार तथा राहातका लागि घटनास्थल पुगेका नेपाली कांग्रेस नेता मोहन बस्नेतले सर्वसाधारणलाई सुरक्षित स्थानमा राख्ने र क्षति भएका पूर्वाधार निर्माणका लागी आफुहरु जुट्ने आश्वासन दिएका छन् । सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि घटनास्थलको निरीक्षणमा पुग्दै उद्दार र राहतका कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आफनो धनसम्पत्ति खोलाको बगरमा परिणत भएपनि अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा उनीहरु छन् ।
सिन्धुपाल्चोकमा बर्षेनी बाढी र पहिरोले दुख दिइरहेको छ । केही वर्षयता लगातार ठूला प्राकृतिक विपत्तीको सामना गर्नुपर्छ । २०७१ सालयता बाढी–पहिरोबाट मात्रै सिन्धुपाल्चोकमा १ सय २४ जनाको मृत्यु र १ सय ६५ जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकमा छ । बर्सेनि बाढी र पहिरोका कारण जनधनको क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोकलाई सरकारले गत वर्षमात्रै विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । २०७२ सालको गोरखा भूकम्पको बेलामा पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमै भएको थियो । तर, विपद प्रतिकार्यको काम प्रभावकारी नहुँदा सिन्धुपाल्चोकवासीले ठूलो क्षति व्यहोर्दै आएका छन् ।
२०७१ सालयता भएका प्राकृतिक विपत्तिका मुख्य घटना
–२०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु
घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मसमेत १ सय ५३ घर पूर्णरूपमा क्षति ।
–२०७२ वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु ।
–२०७३ असार २१ गतेको भोटेकोशी नदीको बाढीले लिपिङ बजारका ३० घर बगे ।
तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति
–२०७४ साउन ८ गते पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद ।
–२०७७ असार २४ गते बाह्रबिसे नगरपालिकाको जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु भयो भने १७ जना वेपत्ता
–२०७७ असार ३१ गते भोटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु
–२०७७ साउन १८ मेलम्ची नगरपालिकामा पहिरो ९ जना मजदुरको मृत्यु
–२०७७ साउन ३० जुगल गाउँपालिकामा पहिरोमा ३७ घर पुरिए । ३९ जना बेपत्ता
२०७१ देखि नै सिन्धुपाल्चोकमा बाढी र पहिरोले जोखिम गराइरहेको छ । बर्षायाम सुरु हुने बित्तिकै सिन्धुपाल्चोकका स्थानीय तर्सिने अवस्था बनिसकेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #बाढीले बितण्डा, #सिन्धुपाल्चोक
ताजा खबर
- १अमेरिकी राष्ट्रपतिका उमेद्वार ट्रम्प–ह्यारिस पहिलो पटक आमनेसामने
- २प्रधानमन्त्री ओलीलाई बालेनले भने–उहिल्यै मरिन् सासू, अहिले आए आँसु
- ३रवि लामिछानेले भेटे प्रधानमन्त्री ओली,पोखरामा कालोझण्डा देखाएकोमा असन्तुष्टि
- ४उपसभामुख रानालाई किन हटाउन खोज्दैछन् सत्तारुढ दल, यस्तो छ लागेको गम्भिर आरोप !
- ५प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईको कमेन्ट लेख्नुहोस्