Techie IT
  • २१ मंसीर २०८१, शुक्रबार
KhojPatrika

कोरोना संक्रमित थपिदैं गर्दा पनि थपिदैनन् क्वारेन्टाइन र आइसुलेसन बेड


काठमाडौं । देश दुई महिनादेखी कोरोना रोकथामका लागि भन्दै ठप्प पारिएको छ । बैशाख महिनादेखी दैनिक जसो कोरोना संक्रमितहरु बढ्दा, देशको स्वास्थ्य पूर्वाधारले धान्न नसकेर थप जोखिम ब्यहोर्नुपर्ला कि भन्ने आँकलन पनि विभिन्न क्षेत्रबाट गरिएको छ । हुन त, कतिपय स्थानमा क्वारेन्टाइनमा बस्नेहरु नै भागिरहेका छन्, उनीहरु भन्दैछन्, बस्न खान सबै कुराले क्वारेन्टाइन कारागार बन्दा कमजोर भए । मोरङ, वीरगञ्ज, बाँके, कपिलवस्तु लगायतका कोरोना अस्पतालमा बस्ने संक्रमितहरु नै भनिरहेका छन् । उपचार गरेर आत्मबल बढाउन राखिएको स्थानमा पुग्दा आत्मबल बढ्ने होइन्, घट्न थाल्यो । न समयमा खाना खाजा पाइन्छ, न बस्ने ठाउँ नै आत्मबल बढाउने खालको छ, उल्टै अरु संक्रमणको जोखिम बढ्यो । यी गुनासो र हाम्रो पूर्वाधारले अहिले नै कोरोना रोकथाम तथा उपचार प्रभावित भएको त हैन भन्ने देखाएका छन् ।
नेपालगञ्जमा कोरोना पुष्टि भएकालाई कहाँ राख्ने भन्ने अन्यौलले २४ घण्टा क्वारेन्टाइनमै राख्नुपरेको अवस्था र वीरगञ्जमा विद्यालय भवनमा कोरोना संक्रमित राख्नुपरेको तथ्यले पनि हाम्रो कोरोना रोकथाम र उपचारको तयारी कस्तो रहेछ भन्ने आफै देखाएको छ । करिब पाँच सय संक्रमित पुग्दा नपुग्दै आइसोलेसन अभाव झेल्नुपरेको छ । अझ, गत सोमबार देखि यो सोमबार बिहानसम्मको एक सातामा मात्रै ४ सय १ जना नयाँ कोरोना संक्रमित थपिएको अवस्थाले हाम्रो उपचार प्रणाली थप प्रभावित हुने शंकेत गरिरहेको छ । अहिलेबाटै कोरोना संक्रमित राख्न बेड अभाव सुरु भएको छ । तर अहिलेसम्म कोरोना संक्रमित राख्न भनेर जम्मा ९ सय ७४ वटा आइशोलेशन बेड मात्रै तयार पारिएका छन । कोरोना संक्रमितका लागि ३ सय ४५ वटा मात्रै आइशियु बेड तयारी अवस्थामा छन् । गम्भिर अवस्थाका १ सय ४६ जनाले मात्रै भेन्टिलेटर सहित उपचार सेवा पाउनेछन । बढ्दै गरेको कोरोना संक्रमितको दरले यो तयारी अत्यन्तै न्यून हुने देखाएको छ ।
हुन त, स्वास्थ्य मन्त्रालयका विज्ञ टोलीले कोरोना संक्रमण र उपचारको आवश्यकता बारे अध्ययन गर्दै तीन चरणको उपचार रणनीतिको तयारीमा लाग्न सरकारलाई सुझाब दिएको थियो । पहिलो चरण अर्थात दुई हजार संक्रमित पुग्दा १६ सय जनालाई आइसोलेसनमा राख्नुपर्ने, तीन सयलाई अक्सिजन सपोर्ट र एक सय जनालाई आईसीयू चाहिने आँकलन गरिएकोमा दोश्रो चरण अर्थात दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुग्दा ४ हजार जनालाई आइसोलेसनमा राख्नुपर्ने, ७ सय ५० जनालाई अक्सिजन सपोर्ट र २ सय ५० जनालाई आईसीयू केयर चाहिने भनिएको छ । तर यहाँको पूर्वाधार र तयारीले पहिलो चरण नै धान्न नसक्ने देखिन्छ । तेश्रो चरण अर्थात ५ हजारदेखि १० हजार संक्रमित पुग्दा ८ हजारलाई आइसोलेट गर्नुपर्ने, १५ सयालाई अक्सिजन सपोर्ट र पाँच सयलाई आईसीयू चाहिने भएकाले यो चरणमा पुग्ने अवस्थामा हाम्रो स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था देखिएको छ । आखिर क्वारेन्टाइन, आइसोलेसन लगायतका पूर्वाधारको क्षमता र संख्यात्मक बृद्धीमा सरकार के गरिरहेको छ त ? संख्यात्मक हिसाबले मात्रै होइन्, पूर्वाधार र श्रोत साधनका हिसाबले समेत कोरोना संक्रमितले उपचारका लागि तयार गरिएका कोरोना अस्पतालको अवस्था नाजुक छ । भएका पूर्वाधारको अवस्था र बेवस्थापनमा सरकार आफै पनि सन्तुष्ठ छैन । प्रधानमन्त्री केपि शर्मा ओलीले स्वास्थ्य पूर्वाधारको अवस्था सुधार्न र संख्या बढाउन पटक पटक निर्देशन दिएपनि कार्यान्वयन हुन सकिरहेको छैन । कोरोना संक्रमित बढ्न थालेपछि बल्लतल्ल प्रदेश एक सरकारले ८ सय ५० आइसोलेसन बेड थप्ने निर्णय गरेको छ ।
यता, कोरोनाको इपिसेन्टर बनेको प्रदेश दुई सरकारले अस्पताल तथा मेडिकल सेन्टरमा ३ सय ०५ आइसोलेसन बेड थप्ने निर्णय गर्दा, अर्को जोखिममा रहेको प्रदेश पाँच सरकारले २ सय ५० आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । संक्रमित बढ्दैगर्दा बागमती प्रदेशले आइसोलेसन बेड संख्या बढाएर पाँच सय हाराहारी पुर्याउने तयारी गर्दैगर्दा गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेश समेत कोरोना उपचारको पूर्वाधार बढाउने गृहकार्यमा जुटेका छन् । तर पहिलो कोरोना संक्रमित पहिचान भएको लामो समयसम्म पूर्वाधार ब्यवस्थापन तथा तयारीलाई बेवास्ता गरेका तीन तहका सरकारले घोषणा जस्तो काम गरि हाल्लान भनेर पत्याउने अवस्था छैन । जे होस्, संक्रमण बढ्दैगर्दा स्वास्थ्य साबधानी सहित जोगिने दायीत्व तपाई हामीले पुरा गरौँ । अनि सरकार मापदण्ड अनुसारको स्वास्थ्य पूर्वाधार सहित क्वारेन्टाइनको पीडा र पोशिलो खानपानसँगै आत्मबल बलियो बनाएर कोरोना जित्नुपर्ने आइसोलेसनका बिरामीहरुको बाध्यतालाई सम्बोधन गर्न अग्रसर होस् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण

तपाईको कमेन्ट लेख्नुहोस्