गौतमश्री सहकारीमा ‘एक्सन’: व्यवस्थापकसहित ५ जना प्रहरीको फन्दामा
काठमाडौ । काठमाडौँको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रवीन बिष्टसहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
बचतकर्ताको सवा अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरी फरार रहेको अभियोगमा उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राजधानीबाटै नियन्त्रणमा लिएको हो ।
पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय बिष्ट उक्त सहकारीका मुख्य व्यवस्थापक हुन् । अरू पक्राउ पर्नेहरूमा सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन् ।
उनीहरूले बचतकर्ताको पैसाले काठमाडौँका विभिन्न स्थानमा घरजग्गा खरिद गरेको र सो सम्पत्ति रोक्का राख्ने प्रक्रिया चलिरहेको छ ।
सहकारीले आकर्षक ब्याजको प्रलोभन देखाएर संकलन गरेको रकम सञ्चालकहरूले निजी कम्पनी र घरजग्गामा लगानी गर्दा संस्था टाट पल्टेको थियो ।
सहकारीले बचतकर्ताको मुद्दती र बचत खातामा रहेको करिब १ अर्ब ७५ करोड रुपैयाँ फिर्ता नगरेपछि १ हजार १ सयभन्दा बढी बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका थिए ।
विभागले उक्त सहकारीलाई ‘समस्याग्रस्त’ घोषणा गर्न सिफारिस गरेसँगै प्रहरीले सञ्चालक र कर्मचारीमाथि निगरानी बढाएको थियो ।
पक्राउ परेकाहरूमाथि सहकारीको आन्तरिक लेखा प्रणालीमा हेरफेर गरेको र सञ्चालकहरूलाई रकम अपचलन गर्न सघाएको आरोप छ ।

क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल



तपाईको कमेन्ट लेख्नुहोस्