पूर्णबहादुर खड्काले भने– संसद् भित्र तपाईं, बाहिर हामी सँगसँगै छौं
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न आग्रह गरेका छन् । सोमबार धुम्बराहीको स्मार्ट होटलमा आयोजित सांसदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा खड्काले सांसदहरूका साथमा आफू र वरिष्ठ नेताहरू सधैँ सँगसँगै रहेको बताएका हुन् ।
‘निर्वाचनको परिणामपछि जुन तरिकाको संसदको बनोट छ, त्यसमा हाम्रो उपस्थिति कमजोर छ । नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएर आउनुभएका सबै माननीय सदस्यको भूमिका प्रभावकारी र अनुकरणीय रहनेछ,’ खड्काले भने, ‘संख्याको हिसाबले हामी कम भएपनि नेपाली लोकतान्त्रिक इतिहासको सिंगो धरोहर बोकेर तपाईँहरू संसद्मा प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।’
संसदीय गतिविधिमा रहँदा देश र जनताका पक्षमा प्रखर रूपमा प्रस्तुत हुन उनले नव निर्वाचित सांसदहरूलाई आग्रह गरे । ‘कानुन निर्माणको सन्दर्भ, नेपाली जनताको हक अधिकारको सन्दर्भमा हामीले वर्षौँको संघर्षबाट निर्माण गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा र जनताको अधिकारको सन्दर्भमा तपाईँहरू प्रखर रूपमा प्रस्तुत हुनुहुनेछ,’ उनले भने ।
संसद् बाहिर रहेका संसद्को अनुभव लिएका नेता सधैँ सांसदको साथमा रहने उनले बताए । उनले भने, ‘सबै खालको सहयोग, सद्भाव, सुझाव र शुभकामना सधैँ रहनेछ । तपाईँहरुले सम्झेको बेलामा हामी प्रस्तुत हुनेछौँ ।’
संसदीय प्रतिस्पर्धा, प्रस्तुति र देश तथा जनताको पक्षमा सुदृढ रूपमै प्रस्तुत रहन सांसदहरूसँग नेता खड्काले आग्रह गरे । यसअघिको सरकार बनाउँदा संविधान संशोधनलाई मूल मुद्दा बनाएपनि त्यसमा अघि बढ्न नसकेको बताउँदै अब संविधान संशोधनका पक्षमा उभिन पनि उनले आग्रह गरे ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्णबहादुर खड्काले भने– संसद् भित्र तपाईं, बाहिर हामी सँगसँगै छौं
- २रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
- ३कांग्रेसमा छुट्टै भेलाबारे शेखरले भने–पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छन्
- ४अब निजी क्षेत्रले घुस खुवाउन पर्दैनः अर्थमन्त्री वाग्ले
- ५प्रधानमन्त्री बालेन्द्रले गरे सांसदहरुसँग क्षेत्रगत समस्याबारे छलफल



तपाईको कमेन्ट लेख्नुहोस्