Techie IT
  • ७ माघ २०८२, मंगलबार
KhojPatrika

अहिलेसम्म २९२५ उम्मेदवारी दर्ताः रुपन्देही २ र ३ मा ३५–३५ र मुस्ताङमा चार जना मात्रै


काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि अहिलेसम्म २९२५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै आयोगले अहिलेसम्म २९२५ उम्मेदवारी दर्ता भएको जनाएको हो । उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेका छन् ।

निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उनले अपेक्षा गरिएको बताए । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले २९२५ उम्मेदवारी परेको जानकारी गराए ।

सचिव राउतका अनुसार जसमध्ये महिला उम्मेदवार ११ प्रतिशत अर्थात् ३३६ र पुरुष ८८ प्रतिशत अर्थात् दुई हजार ५८९ रहेको छ । यस्तै अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्र क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ ।उम्मेदवारी दर्ताको आयोगले प्रारम्भिक विवरण मङ्गलवार राति नै सार्वजनिक गर्ने छ ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने त्यसै दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं