Techie IT
  • २ पुस २०८२, बुधबार
KhojPatrika

बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !


रुकुमपश्चिम । बहुमतका आधारमा फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको लागी उम्मेद्वार छनोट गर्दा नेपाली कांग्रेस रुकुमपश्चिममा खैलाबैला मच्चिएको छ । पार्टीभित्र असहमति हुँदा हुँदै उम्मेदवार छनोट बहुमतका आधारमा गरिएपछि जिल्लामा खैलाबैला मच्चिएको हो । प्रतिनिधि सभाका लागी प्रत्यक्षतर्फ पार्टी जिल्ला सभापति प्रेम प्रकाश ओलीलाई एक नम्बरमा र पुर्वराज्य मन्त्री एवं नेता गोपालजी जंग शाहलाई दुई नम्बरमा सिफारिस गरिएको थियो । लेखमाया केसीलाई भने तेस्रो प्राथमिकता दिएर कांग्रेसले सिफारिस गरेको थियो ।

कांग्रेस जिल्ला कार्यसमितिको पदाधिकारीमै सहमति नजुट्दा बहुमतको आधारमा निर्णय गरिएपछि असन्तुष्टि बढेको हो । समानुपातिकतर्फ मानबहादुर नेपाली दलित कलष्टर र मनिषा रोकायलाई महिला कलष्टरमा सिफारिस गरिएको छ । यस्तै, पुर्वउपसभापति बिरबहादुर ओलीलाई राष्ट्रिय सभामा सिफारिस गरिएको छ । समानुपातिक र राष्ट्रिय सभाको उम्मेद्वार सिफारिसमा भने विमति थिएन । पार्टीको बिधान र मापदण्ड अनुसार कलष्टर मिलाएर प्रतिनिधि सभाका लागी उम्मेदवार सिफारिस गरिएको कांग्रेस रुकुमपश्चिमले जनाएको छ ।

प्रत्यक्षतर्फ आकांक्षी रहेका पाँच जनाको नाम नै सिफारिस गर्नुपर्ने आवाज पदाधिकारी र जिल्ला कार्यसमिति बैठकमा उठेको थियो । तर, सभापति प्रेम प्रकाश ओलीले त्यो निर्णय आफूलाई कुनै हालतमा मान्य नहुने बताएका थिए । युवालाई नै यस पटकको चुनावमा सिफारिस गर्नुपर्ने भन्दै कांग्रेसका युवाहरुले बैठकमै टेबुल समेत बजारेका थिए । जहाँ हल्लाखल्ला भएपछि बैठक नै स्थगित गर्नुपरेको थियो । त्यसपछि जिल्ला कार्यसमिति बैठक बस्न नै नेताहरुले नमानेको बताइएको छ ।

पदाधिकारीमध्ये उपसभापति हर्कसिंह खत्रीले आफ्नो असहमति रहेको भन्दै हस्ताक्षर गरेका छैनन् । उनले परिवर्तित परिस्थितीमा नयाँ र युवा उम्मेदवार सिफारिस गर्नुपर्नेमा पार्टीले त्यस्तो नगरेको गुनासो गरे । सर्वसम्मत निर्णय नभएको खत्रीको दावी छ । पार्टी हित नचाहनेहरुले मात्र पुरानै मान्छेहरु सिफारिस गरेको भन्दै उपसभापति खत्रीले पार्टी बलियो बनाउन युवालाई जिम्मेवारी दिनुपर्ने बताएका थिए ।

त्यस्तै, सचिव परमेश्वर भण्डारीले पनि सिफारिसको लिखित निर्णयमा हस्ताक्षर गरेका छैनन् । उनले पनि युवाको भावना नसमेटिएको भन्दै तीन जनाको मात्रै सिफारिसमा आपत्ति जनाएका छन् । उम्मेद्वार सिफारिसका आकांक्षी युवा नेताद्धय राजु केसी र शिव आचार्यले बहुमतका आधारमा निर्णय गरेपनि मुसिकोट सदरमुकाममै सामुहिक पत्रकार सम्मेलन गरेर असन्तुष्टि पोखेका छन् ।

प्रतिनिधिसभामा उम्मेद्वार सिफारिस भएका ब्यक्तीहरुको हकमा आफ्नो गुनासो नभएर पार्टीको विधि र प्रक्रियाबाट नभएकोले आफूले आपत्ति जनाउनुपरेको उम्मेद्वारका आकांक्षी युवा नेता राजु केसीले पत्रकार सम्मेलन नै गरेर बताएका छन् । उनले बर्षौदेखि पुरानै नेताहरु पार्टीमा हावी हुँदा पार्टी कमजोर हुँदै गएको बताए । उनले ब्यक्तीगत लान्छाना लगाएर युवाहरुलाई राजनीतिमा रोक्न खोजेको जिकिर गरे । कांग्रेसको आगामी १५ औं महाधिबेशनबाट केन्द्रमा हुने राजनीतिक समिकरणलाई लिएर आफूलाई जिल्लाबाटै सिफारिसमा रोकेको केसीको दाबी छ । पार्टी विधि र प्रक्रिया विपरित चलाएर सभापति ओलीले उल्टै पार्टीको सभापति छोड्छु भन्ने खालका अभिब्यक्ती दिएको समेत केसीको दाबी छ ।

त्यस्तै, प्रतिनिधि सभाको प्रत्यक्षतर्फका अर्का आकांक्षी शिव आचार्यले पनि पुरानै नेताहरुले युवाको भावना बुझ्न नसकेको बताए । उनले पार्टीमा बर्षौदेखि टेस्टेट नेताहरुले आफूहरुलाई सिफारिसबाट रोकेको बताए । उनले जेनजी विद्रोह र जिल्लामा भइरहेको राजनीतिक उताड–चढाव नेताहरुले बुझ्न नसकेको बताए । आचार्यले जिल्लाको कांग्रेसलाई प्रेम प्रकाश ओली, पूर्वराज्यमन्त्री गोपाल जी जंग शाह र केन्द्रीय सदस्य मानबहादुर नेपालीले आफ्नो ब्यक्तीगत सिण्डीकेट चलाएको आरोप लगाए । लगातार चुनाव लड्ने तर जित्न नसक्ने अनि लगातार आफू नै उम्मेद्वार बन्न खोज्नु गलत भएको आचार्यको दाबी छ । नेताहरुले केन्द्रको परिपत्रको हवाला दिर्दै राजनीति आफ्नो पेवा जस्तो ठानेको उनको आरोप छ ।

युवा पुस्ताका नेताहरु राजु केसी, शिव आचार्य, नन्दु बिष्ट लगायतको आकांक्षा वेवास्ता भएपछि पछिल्लो पुस्ताले विरोध गर्ने भएकोले सहमतिको नाममा कोठे बैठकले बहुमतका आधारमा निर्णय गरिएको भन्दै सामाजिक सञ्जालमा जिल्लाका नेता र कार्यकर्ताले असन्तुष्टि जनाइरहेका छन् ।

उनीहरुले २०७९ को चुनावमा पनि नेताहरुले माओवादीको तर्फबाट उम्मेद्वार भएका जनार्दन शर्माको पक्षमा मत माग्दै हिडेर पार्टी भद्रगोल बनाएको आरोप लगाइरहेका छन् । गत चुनावमा माओवादीसँग गठबन्धन गरेका कारण रुकुमपश्चिम कांग्रेसले प्रतिनिधिसभा र प्रदेश सभा कुनैमा पनि सिट पाएको थिएन ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं