सहकारीमा ब्रम्हलुट गर्ने २९ जना विदेशमा,स्वदेशमै रहेका रकम अपचलन गर्नेमाथि कारवाही गर्न सिफारिस !
काठमाडौं । गत भदौ ३१ गतेको प्रतिनिधि सभा बैठकमा पेश गरिएको सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ । ११ सय २४ पृष्ठ लामो उक्त प्रतिवेदन बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको वेबसाइटमा सार्वजनिक गरेको हो । यसअघि भदौ ३१ गतेको प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश गरेका थिए । त्यसबेला उनले यो प्रतिवेदनमा मुख्य मुख्य कुराहरू प्रतिनिधिसभामा सुनाएका थिए ।
यसअघि बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । छानबिन समितिले सहकारी संस्थाको रकम कानुन विपरीत गोरखा मिडिया नेटवर्क प्रालिमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवम् रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको छ ।
छानबिन समितिले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुन विपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रष्ट किटान गरेको छ । सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नलाई कारबाही गर्न प्रतिवेदनमा उल्लेख छ । समितिले तयार पारेको प्रतिबेदनमा सहकारीको बचत अपचलन गरेर २९ जना फरार रहेको प्रतिवेदनमा उल्लेख छ । सहकारीको पैसा ठगेर जीबी राई मलेसियामा रहेको प्रतिवेदनमा लेखिएको छ ।
फरार भएकै कारणले उनीसँग बयान लिन नसकिएको समितिले जनाएको छ । यसबाहेक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन‚ ज्योति गुरुङ‚ दीपक थापा लगायतका व्यक्ति फरार रहेका छन् । त्यस्तै, सहकारी र रास्वपा सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडियामा कारोबार भएपनि सञ्चालक र नियामक निकायहरू बेखबर रहेको पाइएको छ ।
सहकारी संस्थाले कारोवार, व्यवसाय र उद्योग वा परियोजना सञ्चालन गर्न चाहेमा संस्थाको उद्देश्य र कार्यक्षेत्रसँग सम्बन्धित रही छुट्टै संस्था दर्ता नगरी कानुन बमोजिम इजाजत पत्र वा अनुमति पत्र लिनुपर्ने भएमा सो समितिलाई रजिष्ट्रारलाई जानकारी गराई सहकारीकै नाममा ब्राण्डिङ गर्ने गरी कारोबार र व्यवसाय गर्नसक्ने प्रबन्ध बाहेक कुनै कम्पनी वा निजी फर्ममा लगानी गर्न वा सापटी दिने कुराको परिकल्पना नगरेको जनाएको छ । तर पोखराको सुर्यदर्शन, बुटवलको सुप्रिम लगायतका सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्रालिमा नियमितजसो रकम प्रवाह भइरह्यो तर कानुन विपरीतको त्यो कार्य कसैले थाहा नपाएको समितिको प्रतिवेदनले औँल्याएको छ ।
समितिको सोधपुछका क्रममा सञ्चालकमध्ये ३५ प्रतिशत स्वामित्व रहेका छविलाल जोशीले आफू गोरखा मिडिया नेटवर्क प्रालिको दैनिक कार्य सञ्चालनमा नरहेकाले आर्थिक मामलामा जानकारी नरहेको बताएको उल्लेख छ । त्यस्तै १५ प्रतिशत शेयर स्वामित्व रहेको रवि लामिछानेले कम्पनीमा आएको सम्पूर्ण रकमको जिम्मेवारी कार्यकारी अध्यक्ष जीवी राईले लिएको र उक्त जिम्मेवारी कम्पनीको लेखापरीक्षण प्रतिवेदन र व्यवस्थापन पत्रमा जीवी राईले गरेको प्रमाणीकरणले पुष्टि हुने समितिलाई बताएका छन् ।
उनलाई ५१ प्रश्न सोधिएको थियो । उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्या गिजोलिएको दाबी बयानका क्रममा गरेका छन् । समितिले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वसचिव दिपेशकुमार पुनसँग बयानका क्रममा ४६ प्रश्न गरेको थियो । पुनले तीमध्ये २४ प्रश्नको जवाफमा ‘यसबारे मलाई जानकारी छैन’ भनेका थिए ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बताएकी छन् । उनले व्यवस्थापक सागर केसीले भनेपछि आफूले ग्लोबल बैंकमा रवि लामिछानेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको पनि स्वीकार गरेकी छन् । त्यस्तै, ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले आफ्नो प्रतिबद्धता पूरा नगर्दा सहकारीमा समस्या देखिएको आरोप लगाएका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #११ सय २४ पृष्ठ लामो, #सहकारीमा ब्रम्हलुट, #स्वदेशमै रहेका
ताजा खबर
- १रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
- २ओली, देउवा र दाहालले देश विगारेः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
- ३अपराजित रहँदै कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
- ४कांग्रेस–एमालेसँग मिल्दामिल्दा माओवादीकै पहिचान हराउने आशंका छः प्रचण्ड
- ५अखिल क्रान्तिकारीको स्थगित सम्मेलन अव २३ र २४ मंसिरमा हुने
तपाईको कमेन्ट लेख्नुहोस्