Techie IT
  • १५ मंसीर २०८१, शनिबार
KhojPatrika

एकअर्काको राजनीति सिध्याउने दाउमा ओली–प्रचण्ड, पटक–पटक प्रेम र घृणाको सम्बन्ध !


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्धमा दरार पैदा भएको छ । सत्ता समिकरण फेरिएपछि उनीहरुबीचको सम्बन्ध टकरावमा परिणत भएको हो । अहिले उनीहरुबीच बहस, छलफलभन्दा आरोप–प्रत्यारोप धेरै हुने गरेको छ । एकाएक बालुवाटारबाट खुमलटार पुग्न बाध्य पारेपछि सबैभन्दा बढी आक्रामक छन् पुष्पकमल दाहाल प्रचण्ड । त्यसमा पनि प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले प्रचण्डलाई थप चिढाएको छ ।

राजनीतिक स्वार्थसिद्धिको लडाईमा प्रेम, स्वार्थ पूरा भएपछि घृणाको लडाई । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको हकमा यो भनाई ठ्याक्कै लागू हुन्छ । अविश्वासै अविश्वासकाबीच उनीहरु आपसमा सहकार्य गर्छन । सहकार्यको केही समयमा उनीहरुबीच अमिलोपन सुरु भइहाल्छ । त्यसपछि उनीहरु एकले अर्कोलाई सिध्याउनेतिर अग्रसर हुन्छन् । अहिले उनीहरुबीच ठ्याक्कै यही भएको छ । कुनै समय सँगै सहकार्यमा होमिएका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला आमने सामने भएका छन् ।

संसददेखि सार्वजनिक कार्यक्रमहरुमा उनीहरु एक अर्कालाई गलाउनेगरी प्रस्तुत भइरहेका छन् । हुनत उनीहरुबीचको रिसिबी आजको भने होइन । विगतदेखि नै उनीहरु आपसमा यसरी भिड्दै आइरहेका छन् । नेकपा विभाजनपछि त उनीहरुबीच वारपारको स्थिति बनेको थियो । विगतका तीता अनुभवलाई बिर्सदै उनीहरु आपसमा फेरि सत्ता सहकार्यमा एकढिक्का भए । तर, नानीदेखि लागेको बानी भनेझैं उनीहरुको सम्बन्ध सोचेजस्तो सुमधुर बन्न सकेन ।

अहिले उनीहरु फेरि फरक कित्तामा उभिएका छन् । सँगैको सत्ता सहकार्य एकाएक टुटेपछि अध्यक्ष प्रचण्ड ओलीसँग सबैभन्दा बढी चिढिएका छन् । ओली र प्रचण्डको मिलन सबैका लागि आश्चर्यलाग्दो विषय बन्ने गरेको छ । उनीहरु जसरी सरप्राइज दिनेगरी मिल्छन् सोहीअनुसार अलग हुन्छन् ।

एकै कित्तामा हुँदा उनीहरुबीच कसैले पनि अलग बनाउन नसक्ने खालको मित्रता हुन्छ । तर, काँध फेरेपछि उनीहरु एकअर्काका शत्रुजस्तै गरी प्रस्तुत हुन्छन् । यसमा उनीहरुबीचको आन्तरिक महत्वकांक्षा र आडम्बरले ठूलो भूमिका खेलेको छ । कतिसम्म भने सँगै हुँदा उनीहरु कम्युनिष्ट एकताको बहस समेत अघि बढाउन तयार हुन्छन् । अलग भएपछि सबैभन्दा एकअर्काको शत्रु उनीहरु नै हुन्छन् । उनीहरुका यस्ता गतिविधिले उनीहरुको व्यवहार र राजनीतिक संस्कारमाथि नै प्रश्न खडा भइरहेको छ ।

एकअर्कालाई बनाउन र सिध्याउन लागिपरेका यी दुई नेताहरु अहिले फरक कित्तामा हुँदा सम्बन्धमा दरार आएको छ । कुनैदिन राजनीतिक स्वार्थका लागि उनीहरु फेरि एकै कित्तामा नआउलान भन्न सकिन्न । राजनीतिमा स्थायी शत्रु र मित्र दुबै नहुने भएकाले उनीहरुबीचको आगामी सहकार्यको सम्भावनालाई भने नकार्न सकिन्न ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #प्रधानमन्त्री केपी शर्मा, #राजनीतिक स्वार्थसिद्धि, #लडाईमा प्रेम, #स्वार्थ पूरा भए

तपाईको कमेन्ट लेख्नुहोस्