Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

सत्ता गठबन्धनले सार्वजनिक गर्यो न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक

भ्रष्टाचारको फाइल खोल्ने र दोषीलाई नछाड्ने बाचा !


काठमाडौं । सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा मंगलवार न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरिएको हो । गठबन्धनले कुनैपनि कालखण्डका भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडी बढाउने दाबी समेत गरेका छन् । सत्तारुढ दलहरुको साझा संकल्पमा अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तिब्रता दिने उल्लेख गरिएको छ ।

सुस्त कर्जा प्रवाह र पुँजीगत सार्वजनिक खर्चको न्युनताजस्ता समस्याको समाधान गर्ने, वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै, तात्कालिक र मध्यकालीन लगानी र रोजगार–मैत्री नीतिगत सुधारमा बाधा पु¥याउने बिभिन्न कानूनहरु संशोधन गरिने गठबन्धनले दाबी गरेको छ । राजश्व र खर्चबीच बढिरहेकोे अन्तरलाई कम गर्न राजश्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गरिने बताइएको छ । साझा संकल्पमा विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने र सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने कुरा उल्लेख गरिएको छ ।

सहुलियतमा रहेको हरित वित्त, अन्तर्राष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रबिन्दुमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको संक्रमणकालिन रणनीति कार्यान्वयन गरिने साझा संकल्पमा उल्लेख छ । त्यसैगरी वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने पनि दलहरुको साझा संकल्प रहेको जनाइएको छ । सहकारी कर्जा असुली न्यायाधिकरणको गठन गर्ने र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गरिने पनि भएको छ ।

त्यस्तै ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्ने, वचत तथा ऋण सहकारी संस्थाको नाममा रहेका सम्पत्तिको धितोमा नेपाल राष्ट्र बैङ्कवाट छोटो अवधिको पुनर्कर्जा उपलव्ध गराउने दाबी गरिएको छ । सत्ता गठबन्धनले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीहरुमाथि कानूनी कारबाही अगाडी बढाउने संकल्प गरेका छन् । दलहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानून, जनशक्ति, स्रोत र साधनसहित अधिकारसम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभुति गराउने पनि प्रतिवद्धता गरेका छन् ।

भ्रष्टाचारी एक दिन कानूनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्नेगरी काम गर्ने जनाइएको छ । साझा संकल्प सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणले पनि काम गर्न नसके देश अप्ठेरो अवस्थामा जाने बताए । उनले जनतामा आशा जगाउनकै लागि यो गठबन्धन बनाएको दाबी गरे । अहिलेको समीकरण आफू प्रधानमन्त्री पदमा रहिरहनका लागि नभई नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यले भएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #न्यूनतम नीतिगत प्राथमिकता, #साझा संकल्प

तपाईको कमेन्ट लेख्नुहोस्