Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
KhojPatrika

के हो स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र डा.गोविन्द केसीको जुहारी ? किन गर्दैछन् आरोप–प्रत्यारोप !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र चिकित्सक डा.गोविन्द केसीबीच आरोप–प्रत्यारोप चलिरहेको छ । मन्त्री बस्नेतले कसैले धम्क्याउदैमा चिकित्सा शिक्षा ऐन संशोधन प्रक्रियाबाट पछि नहट्ने बताइरहँदा डा.गोविन्द केसीले भने मन्त्री बस्नेत माफियासँग साँठगाँठ गरिरहेको आरोप लगाएका छन् । गोविन्द केसीकै कारण नेपालमा चिकित्सक अभाव हुन थालेको मन्त्री बस्नेतको जिकिर छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन प्रक्रिया अघि बढाउने केही साताअघि प्रष्ट पारे । चिकित्सा शिक्षा ऐन संशोधन रोक्ने र नेपालमा चिकित्सक उत्पादन नै हुन नदिने खेल चिकित्सा शिक्षा सुधारको अभियान चलाइरहेका डा. गोविन्द केसीलाई मन्त्री बस्नेतले सार्वजनिक कार्यक्रममै आरोप लगाएका थिए । सो कुरा सञ्चारमाध्यमबाट बाहिरिएपछि डा. गोविन्द केसीले बिज्ञप्ती नै जारी गरेर मन्त्री बस्नेतको राजीनामा नै मागे । यदि मन्त्री बस्नेतले राजीनामा नदिए आफू अनसन बस्ने धम्की डाक्टर केसीले दिएका थिए ।

यो जुहारी चलिरहँदा स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संसोधनको प्रक्रियाबाट सरकार पछि नहट्ने बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले कोही सुत्छु भन्दै सरकार ऐन संशोधाबाट पछि नहट्ने बताए ।

चिकित्सा शिक्षा ऐनको विद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नु पर्ने हो त्यो ढङ्गले अघि बढ्न नसकेको उनको भनाई थियो । चिकित्सा शिक्षा ऐनका कारण देशमा आगामी पाँच वर्षमा चिकित्सक तथा स्वास्थ्य प्राविधिकको समस्या हुने देखिएकाले संशोधन गर्न लागिएको उनले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा २२ वर्षअघिको दरबन्दीले काम भइरहेको बताउँदै उनले यसलाई थप गरेर अघि बढ्ने बताए ।

सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पतालहरूलाई नर्सिङ र प्यारामेडिक्स पढाउन दिने र तीन सयभन्दा बढी शैया भएका अस्पतालहरूलाई एमबीबीएस पढाउन दिने गरी खुकुलो पार्न लागेको छ । तर, डा.केसीले बस्नेतले स्वास्थ्य मन्त्रालय सम्हाले देखिनै माफियाको पक्षमा लबिङ गरिरहेको आरोप लगाइरहेका छन् । झण्डै दुई दर्जन पटक अनसन बसिसकेका डाक्टर केसी र स्वास्थ्यमन्त्री बस्नेतको जुहारीले कुन मोड लिन्छ त्यो भने हेर्न बाँकी छ ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #चिकित्सक डा.गोविन्द केसी, #चिकित्सा शिक्षा सुधार, #मोहनबहादुर बस्नेत

तपाईको कमेन्ट लेख्नुहोस्