प्रचण्ड–ओलीको जुहारीले सभामुखलाई गाह्रो, निकास कसले खोज्ने ?

काठमाडौं । संसदमा भइरहेको अवरोध हटाउन सभामुख देवराज घिमिरेको दौडधुप जारी छ । तर, झण्डै एक महिनादेखि अवरुद्ध संसद खुलाउन पटक–पटक छलफल गरेपनि प्रगति भने शुन्य छ । कहिले बालुवाटारमा त कहिले सिंहदरबारमा कहिले शीर्ष नेता त कहिले प्रमुख सचेतकहरुलाई बोलाएरै छलफल गरेपनि दलहरु टसको मस नहुँदा सभामुख घिमिरे सबैभन्दा बढी तनावमा छन् ।
आज भन्दा ठिक एक महिना अर्थात् साउन ३ गते सिनामंगलमा भेटिएको सुनको तौल सुरुमा एक क्विन्टल भन्दा बढी भनियो । यो एक महिनामा सुन गालेर जोख्दा घटेर ६० किलोमा आयो । तर, यहि प्रकरणमा न एमाले न त सत्ता पक्ष कुनै दल आफ्नो अडानबाट गलेका छैनन् ।सुनको मालिक पत्ता लगाउन उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने एमालेको अडान र सिआईवीले नै अनुसन्धान गर्छ भन्ने सरकारको जवाफले संसद बन्धक बनेको एक महिनै पुग्न लाग्यो । तर, निकास अझै निस्किएको छैन् ।
पटक–पटक सूचना टाँस्दै बैठक स्थगित गरेपछि सभामुख देवराज घिमिरेलाईसंसद नै चलाउन नसकेको आरोप पनि लाग्दै आएको छ । संसद खुलाउन कहिले बालुवाटार त कहिले सिहदरबारमा कहिले शीर्ष नेता त कहिले दलका प्रमुख सचेतकसँग सभामुख घिमिरेले छलफल पनि गरे । तर, हात लाग्यो शुन्य । उच्चस्तरीय छानविन समिति गठनको अड्को थापेको एमाले पछि हट्ने देखिदैन् ।
सत्ता गठबन्धनका दल खासगरी नेकपा माओवादी केन्द्र एमालेको मागलाई सम्बोधन गर्नै नसकिने बताउदै आएको छ । यी दुबै पक्षको अडानले सबैभन्दा बढी समस्यामा परेका छन् सभामुख देवराज घिमिरे । संसद चलाउन दुबै पक्षले दवाव दिइरहेका छन् तर, आफ्नो अडान त्याग्न कोही पछि हट्दैनन् । आईतवार पनि संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गरे । कहिले एमालेले दवाव दिन्छ सरकारलाई समिति बनाउन रुलिङ गर्नुहोस् ।
कहिले सरकारले भन्छ एमालेलाई अडान छोड्न भनिदिनुहोस् । दलहरुको यहि दवाव र भनाईको पेलानमा सभामुख घिमिरे परेका छन् । अवरुद्ध भएको संसदमा बोल्न नपाएको दुखेसो पनि दलहरुले गरिरहेका छन् । रास्वपाले त सभामुख घिमिरेले संसद नै हाइज्याक गरेको आरोप नै लगाइसकेको छ । सभामुख घिमिरेलाई सूचना टाँस गरेर होइन बैठक सञ्चालन गरेरै अघि बढ्न दवाव र सुझाव दिनेहरुको पनि कमी छैन् । दलहरुले सहमतिको बिन्दु पत्ता लगाउन नसक्दा पनि दोष सभामुखले नै खेप्नुपरेको छ ।
एमाले र माओवादीको यो लडाईलाई टुलुटुलु हेरेको कांग्रेस सहमतिको प्रयासका लागि भएका सबै बैठकमा सहभागि छ । तर, मुख खोल्न सकेको छैन् । जसका कारण दुबै पक्षलाई दोषी देखिरहेको छ । संसद बैठकको आह्वान हुन्छ । सांसदहरु चिटिक्क परेर संसद भवन बानेश्वर पनि पुग्छन् । घण्टौंसम्म कुर्दा पनि बैठक सुचना टाँस गरेरै स्थगित हुँदै आएको छ । त्यो भन्दा म के कम भन्ने एमाले–माओवादीको केटाकेटीपनले महिना दिनदेखि जनताका मुद्धा संसदमा दर्ज नै हुन सकेका छैनन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अवरुद्ध संसद, #सभामुख देवराज घिमिरे, #संसदमा भइरहेको अवरोध
तपाईको कमेन्ट लेख्नुहोस्